बोलपत्र आह्वानको सूचना लुकाएर १ लाख ४२ हजार भ्रष्टाचार, तीन जना अख्तियारको फन्दामा

काठमाडौं । फेटा गाउँपालिका बारामा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्यको ठेक्कामा सार्वजनिक सूचना लुकाएर भ्रष्टाचार गरेको आरोपमा तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, लेखा अधिकृत मुकेश प्रसाद साह र नेपाल मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक नवराज निरौलाविरुद्ध आरोपपत्र दायर गरेको हो ।
फेटा गाउँपालिकाले आव २०७९।८० मा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्यका लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने कानुनी प्रावधान छ । तर, अख्तियारको अनुसन्धानमा नेपाल मिडिया हाउसका निर्देशक निरौलासँगको मिलोमतोमा सूचना सौर्य दैनिकमा देखिने गरी सीमित प्रतिमा मात्र छापिएको र प्रामाणिक ढंगमा सूचना प्रकाशित नगरिएको पुष्टि भएको छ ।
अनुसन्धानका क्रममा सौर्य दैनिकले प्रेस काउन्सिलमा पेश गरेको २०७९ मंसिर २० को अंकमा उक्त सूचना प्रकाशन भएको प्रमाण नभेटिएको उल्लेख छ । तर, ठेक्काको प्रयोजनका लागि फेटा गाउँपालिकाको अभिलेखमा झुटो विवरणसहित उक्त मितिको पत्रिका समावेश गरी नेपाल मिडिया हाउस प्रालिले १ लाख ४२ हजार १ सय ६० (भ्याट बाहेक) बराबरको बिल पेश गरी रकम भुक्तानी लिएको पाइएको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार प्रमुख प्रशासकीय अधिकृत सिंह र लेखा अधिकृत साहले आफ्नो पदको दुरुपयोग गरी बोलपत्र सूचना छिपाएर मिलेमतोमा झुटा विवरण पेश गरी फेटा गाउँपालिकाको रकम अपचलन गरेको पाइएको हो । यसरी गरिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) (ङ) अनुसार भ्रष्टाचारको कसुर ठहरिने अख्तियारको ठहर छ ।
त्यसैगरी, नेपाल मिडिया हाउसका प्रबन्ध निर्देशक निरौला पनि सो कसुरमा मतियार भएको निष्कर्ष अख्तियारले निकालेको छ । उनले मुख्य कसुरदारहरूसँग मिलेमतो गरी झुटा सूचना बनाई रकम भुक्तानी गराएको हुँदा सोही ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार सरहको सजाय हुनुपर्ने माग गर्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र पेश गरेको हो ।
अख्तियारले तीनै जना प्रतिवादीहरूलाई बिगो स्वरूप १ लाख ४२ हजार १ सय ६० कायम गरी सोही ऐन अनुसार कैद र जरिवानाको माग दाबी गरेको छ ।













