राष्ट्रिय गौरवका आयोजनाहरू स्थगन र खारेजी गर्ने प्रधानमन्त्री ओलीको घोषणा

२८ बैशाख २०८२, आईतवार १३:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गरी समयमै सम्पन्न हुने परियोजनालाई अघि बढाइने र सम्भावना नभएका आयोजनालाई स्थगन वा खारेज गरिने स्पष्ट पारेका छन्।

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ‘जहिले काम गरेजस्तो देखिने तर काम सम्पन्न नहुने’ प्रवृत्तिको अन्त्य गर्न विकास निर्माणको ढाँचा नै परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले विगतका विभिन्न सरकारले अघि सारेका परियोजनाहरूको गम्भीर पुनरावलोकन गरिने बताए।

‘थालिएको काम सक्ने हाम्रो घोषित नीति हो। चालु परियोजनालाई आर्थिक वर्ष २०८२।०८३ भित्र सम्पन्न गर्ने र प्रतिनिधिसभाको यो कार्यकालमै सकेर टुंग्याउने गरी वर्गीकरण गरिएको छ। अबबाट समयमै काम सकिनेछ’ प्रधानमन्त्री ओलीले भने।

उनले निर्माणाधीन र निर्माण गर्नुपर्ने सबै योजनाको स्रोत मूल्यांकनको आधारमा कार्य अघि बढाइने उल्लेख गरे। ‘स्रोतको यथार्थ मूल्यांकन बिना अघि बढेका परियोजनालाई अब स्थगित वा खारेज गरिनेछ। त्रुटिपूर्ण योजनालाई निरन्तरता दिँदा अझ ठूलो समस्या निम्तिन सक्छ’ उनले थपे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*