जेठ १५ गते राजसंस्थाका पक्षधरको शक्ति प्रदर्शन: आन्दोलनमा सहभागी हुन आह्वान

काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा आयोजना गर्न लागिएको प्रदर्शनलाई थप सशक्त बनाउने तयारी स्वरूप उपत्यका बाहिरका जनतालाई समेत काठमाडौं आउन आह्वान गरेको छ।
आइतबार समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकले राजधानीमा हुने आन्दोलनलाई प्रभावकारी बनाउन उपत्यकाबाहिरका नागरिकलाई समेत सहभागी गराउने निर्णय गरेको हो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरूको उपस्थिति थियो।
‘काठमाडौंबाट मात्र होइन, मुलुकभरबाट नागरिक सहभागी गराई राजसंस्थाको समर्थनमा एकताबद्ध आवाज बुलन्द गरिनेछ’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘काठमाडौँका जनता तथा सबै वर्ग, पेसा र समुदायलाई पनि सक्रिय सहभागिताको लागि आह्वान गरिन्छ।’
समितिले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने जनाएको छ। साथै राष्ट्रिय मानव अधिकार आयोगलाई प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने निर्णय समेत बैठकले गरेको छ।
बैठकले हाल सरकारद्वारा विचार तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने किसिमको कानुन निर्माण गर्न लागिएको भन्दै त्यसको विरोध गर्ने निर्णय पनि गरेको छ। यस्तै, तीनकुने घटनाको सन्दर्भमा पक्राउ परेकाहरूको तत्काल रिहाइको मागसमेत गरिएको छ।













