एनएलजी इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगति, बीमा व्यवसाय २ अर्ब नजिक

२९ बैशाख २०८२, सोमबार ०७:४०

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा सामान्य गिरावट आएतापनि व्यवसाय लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीले १२ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको यस्तो मुनाफा ९.७८ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा कम्पनीले १३ करोड ६७ लाख रुपैयाँ बराबरको मुनाफा आर्जन गरेको थियो ।

एनएलजी इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ७.६९ प्रतिशतले बृद्धि भएर एक अर्ब ८७ करोड ६३ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आवको सोही अवधिमा एक अर्ब ७४ करोड २४ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको थियो ।

आम बीमितहरुलाई बीमा गरेपछि आवश्यक रहने भनेको बीमा दावी भुक्तानी हो । एनएलजी इन्स्योरेन्स बीमा दावी भुक्तानीमा पनि अब्बल बन्दै आएको छ । चालु आवको नौ महिनामा कम्पनीले एक अर्ब ७१ करोड पाँच लाख रुपैयाँको बीमा दावी भुक्तानी दिएको छ । जुन गत आवको तुलनामा ५६ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा कम्पनी कर्जा तथा लगानी मार्फत १३ करोड ४२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।  चुक्ता पुँजी दुई अर्ब ५० करोड रहेको एनएलजी इन्स्योेरेन्सको जगेडा कोषमा ११ करोड १६ लाख रुपैयाँ र बीमा कोषमा चार अर्ब ३३ करोड नौ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५७ पैसा र नेटवर्थ पर शेयर १८० रुपैयाँ ३२ पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीमा एक लाख ४४ हजार बीमा पोलिसी कायम रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*