चीन र अमेरिकाबीच एक अर्कामाथि लगाएको भन्सार ११५ प्रतिशतले घटाउने सहमति

काठमाडौँ । विश्व अर्थतन्त्रलाई प्रभावित बनाइरहेको अमेरिका र चीनबीचको भन्सार युद्ध ९० दिनका लागि थामिएको छ। स्वीट्जरल्यान्डको जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म सम्पन्न उच्चस्तरीय व्यापार वार्ताबाट दुई महाशक्तिहरूले एकअर्कामाथि लगाएको उच्च भन्सार महसुल घटाउने सहमति जनाएका छन्।
वार्तापछि सोमबार जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘अमेरिका र चीनले हाल कायम रहेका उच्च भन्सार दर ९० दिनसम्मका लागि घटाउने र यस अवधिमा व्यापार संवाद संयन्त्रमार्फत थप छलफल अघि बढाउने सहमति भएको छ।’
अमेरिकाले चीनबाट आयात हुने वस्तुमा लगाएको भन्सार महसुल १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झार्ने सहमति गरेको छ भने, चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १२५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याउने छ। यो सहमति आगामी मे १४ देखि लागू हुनेछ।
जेनेभामा भएको वार्तामा ‘व्यापार संवाद संयन्त्र’ गठन गर्ने निर्णय पनि भएको छ, जसले आगामी ९० दिनभित्र समस्याको दीर्घकालीन समाधान खोज्नेछ। प्रतिनिधिहरूले यो सहमतिलाई ‘उल्लेखनीय उपलब्धि’ बताउँदै यसको सकारात्मक असर विश्वभर पर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा ‘रेसिप्रोकल ट्याक्स’ को नीतिअनुसार विश्वभरका देशहरूलाई उच्च भन्सार महसुल लगाउने घोषणा गरेका थिए। उनले अप्रिल २ मा चीनमाथि ३४ प्रतिशत, भारतमाथि २७ प्रतिशत, र युरोपियन युनियनमाथि २० प्रतिशत भन्सार तोक्ने निर्णय गरेका थिए। पछि यो महसुल क्रमशः बढ्दै गएको थियो।
विशेषतः चीनमाथि अमेरिकाले बारम्बार भन्सार बढाउँदै लगेकाले यो दर १४५ प्रतिशतसम्म पुगेको थियो। चीनले पनि जबाफस्वरूप अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतसम्म भन्सार लगाएको थियो।













