हेटौंडा सिमेन्ट साढे १ अर्ब ऋणात्मक, अन्य चार संस्थान पनि उच्च नोक्सानीमा

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पाँच सार्वजनिक संस्थान उच्च नोक्सानीमा पुगेको बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा सार्वजनिक गर्दै बिहीबार उनले उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयले प्रकाशित गरेको वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा व्यावसायिक कारोबार सञ्चालन गरेका सार्वजनिक संस्थानहरूमध्ये नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग, जनक शिक्षा सामग्री केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपाल सबैभन्दा धेरै नोक्सानी व्यहोर्ने संस्थानका रूपमा सूचीकृत भएका छन् ।
यी पाँच संस्थानले एक्लैले सार्वजनिक संस्थानहरूको कूल नोक्सानको ६३.६३ प्रतिशत हिस्सा ओगटेका छन् ।
नेपाल वायुसेवा निगमको मात्रै १६ अर्ब ६८ करोड ७ लाख रुपैयाँबराबरको सञ्चित नाफा नोक्सानीमा गएको देखिएको छ । त्यसपछि क्रमशः नेपाल खानेपानी संस्थानको १ अर्ब ११ करोड १४ लाख, हेटौंडा सिमेन्ट उद्योगको १ अर्ब ५० करोड ६४ लाख, जनक शिक्षा सामग्री केन्द्रको १ अर्ब १५ करोड ९६ लाख र सार्वजनिक सेवा प्रसारण नेपालको २ अर्ब ४७ करोड ४ लाख रुपैयाँबराबरको सञ्चित नाफा नोक्सानीमा परिणत भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनले विशेषगरी नेपाल वायुसेवा निगमको वित्तीय अवस्था निरन्तर कमजोर हुँदै गएको उल्लेख गरेको छ । निगमले भोगिरहेको गम्भीर नोक्सानीको प्रमुख कारणमा जहाज खरिद ऋणको साँवा र ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरूको न्यून उपयोग र व्यवसायिक योजनाको कमजोर कार्यान्वयन रहेको मन्त्रालयको निष्कर्ष छ ।
यस्तै नेपाल खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग र सार्वजनिक सेवा प्रसारण नेपाल पनि विगतका वर्षहरूदेखि नै खुद नोक्सानीमा सञ्चालन भइरहेका छन् ।












