यातायात कार्यालयमा भ्रष्टाचारः अर्कैको नामको लाइसेन्स सच्याएर अर्कैलाई वितरण

१८ जेष्ठ २०८२, आईतवार १२:१४

काठमाडौं । रुपन्देहीमा अर्कै व्यक्तिको नाममा जारी भइसकेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को विवरण नै फेरेर अर्कै व्यक्तिलाई दिएको पाइएको छ।

ट्रायल नै नदिएकी रुपन्देहीकी सभ्यता केसीले यातायात कार्यलयमा सेटिङ हानेर अरूले ट्रायल कटाएर जारी गरेको लाइसेन्स सच्याउन लगाएर आफूले प्रयोग गरेको खुलेको हो।

यसमा रुपन्देही यातायात कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र दाङ्ग, तुलसीपुरका कम्प्युटर अपरेटर अनिल बुढामगरको मिलेमतो भएको खुलेको छ।

उनीहरूले सरकारी कम्प्युटर प्रणालीमा प्रवेश गरी अरूकै नाममा जारी भइसकेको लाइसेन्समा आवेदक आईडी र लाइसेन्स नम्बर यथावत राखेर नाम लगायतका व्यक्तिगत विवरण भने सच्याएर सभ्यता केसीलाई दिएको अनुसन्धानमा खुलेको हो।

यसरी सेटिङमा सरकारी अभिलेख प्रणालीमै चलखेल गरेर फर्जी लाइसेन्स बनाएर दिएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभ्यता केसी सहित चारैजना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*