पतञ्जली जग्गामा भ्रष्टाचारः पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित ९३ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिएर सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुर्याएको आरोपमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल नामक संस्था हाल नाम परिवर्तन भई ‘पतञ्जली योगपीठ’ नाममा नाफा वितरण नगर्ने कम्पनीको रूपमा दर्ता भए पनि व्यवहारमा कम्पनीले व्यापारिक लाभ प्राप्त गर्ने उद्देश्यले कार्य गरेको पाइएको छ।
कम्पनीका संस्थापक शालीग्राम सिंहले सरकारी पदधारण गरेका व्यक्तिहरूसँगको मिलेमतोमा देशभरका विभिन्न स्थानमा ऐनले तोकेको सिमाभन्दा बढी जमिन खरिद गर्न गराएका थिए।
भूमि सम्बन्धी ऐनअनुसार तोकिएको हदबन्दीभन्दा बढी जमिन नामसारी गर्न नपाइने व्यवस्था र त्यस्तो जग्गा सरकारको नाममा आउनु पर्ने प्रावधान छ। तर उक्त कम्पनीका नाममा हदबन्दी नाघेर जग्गा खरिदबिक्री गरेको भन्दै मुद्दा दायर भएको हो।
मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरूमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्री, मुख्य सचिव, विभागीय कर्मचारी, गुठी संस्थान, मालपोत कार्यालय काभ्रेका कर्मचारी, सनराइज बैंकका पदाधिकारी, विधेयक समितिका संयोजक लगायत रहेका छन्।
पतञ्जली कम्पनी तथा त्यसका संस्थापक सदस्य शालीग्राम सिंहले आफ्नो संस्था तथा व्यक्तिको नाममा लाभ प्राप्त गर्ने उद्देश्यले विभिन्न सरकारी निकायमा प्रभाव प्रयोग गरी गैरकानुनी निर्णयहरू गराएको अख्तियारले दाबी गरेको छ।
यसमा तहगत संरचना निर्माण गरी मालपोतदेखि मन्त्रिपरिषद् तहसम्मका निकायको संलग्नता देखिएको आयोगले निष्कर्ष निकालेर तत्कालीन प्रधानमन्त्री नेपाल समेतलाई विपक्षि बनाएर मुद्दा दायर गरेको हो।
u0VO8F










