सडकको बिल पास गर्न ६ लाख ७० हजार घुस लिने इन्जिनियरविरुद्ध मुद्दा दायर

२२ जेष्ठ २०८२, बिहीबार १८:१२

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध ६ लाख ७० हजार रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट ५ लाख ७० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा इन्जिनियर यादवले खोटाङमा निर्माणाधीन सडकको पाँचौं रनिङ बिल स्वीकृत गरी भुक्तानी प्रक्रिया अघि बढाइदिएबापत२०८१ साल मंसिर ८ गते एक लाख रुपैयाँ र छैटौं रनिङ बिल भुक्तानीको लागि २०८२ साल जेठ १ गते पाँच लाख सत्तरी हजार रुपैयाँ गरी जम्मा ६ लाख ७० हजार रुपैयाँ घुस लिएको देखिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको देहाय (ङ) बमोजिम कैद र बिगोअनुसार जरिवाना हुने मागदाबी सहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*