उपभोक्ताको हक उलङ्घन गर्ने १२ व्यवसायको अनुगमन, सिटी टाइमलाई ६० हजार जरिवाना

२२ जेष्ठ २०८२, बिहीबार १८:२६

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार जेठ २२ गते विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम निर्देशन र कारबाही गरेको छ।

विभागले उपभोक्ताको हित संरक्षण तथा बजारमा व्यावसायिक अनुशासन कायम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका तथा चन्द्रागिरी नगरपालिकाभित्रका विभिन्न १२ वटा व्यवसायहरूको निरीक्षण गरेको हो। अनुगमनका क्रममा “सिटी टाइम” नामक व्यवसायलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) अनुसारको कसुर गरेको पाइएकाले सोही ऐनको दफा ३९ को १ (घ) अनुसार ६० हजार रुपैयाँ जरिवाना तिराइएको छ।

त्यसैगरी, अन्य ११ वटा व्यवसायहरू पिङ्की इन्टरनेशनल प्रा.लि., आवरण स्किन क्लिनिक प्रा.लि., ज्यामिज बबल टी एण्ड क्याफे प्रा.लि., एरिक फेशन कलेक्सन, बीएसपी ट्रेडर्स, एसएनएच फर्मासिया प्रा.लि., अल्ट्रा रिनेवल इनर्जी प्रा.लि., लालपुर्जा नेपाल प्रा.लि., ए.जी. वर्ल्ड, दुनस ट्रेडिङ कन्सर्न र अन्सिता सप्लायर्सलाई व्यवसाय सम्बन्धी आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

यी व्यवसायहरूले उपभोक्ता संरक्षण ऐनले तोकेको व्यवसायिक मापदण्ड पूर्णरूपमा नअपनाएको पाइएपछि वस्तुहरूको बिक्री वितरणमा समेत रोक लगाइएको विभागले जनाएको छ। विभागले अनुगमनका क्रममा यस्ता व्यवसायहरूले उपभोक्ताको स्वास्थ्य, सुरक्षा वा जानकारीको हकलाई बेवास्ता गर्ने कार्य नगर्न तथा ऐन र नियमावलीअनुसार व्यापार सञ्चालन गर्न थप निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*