विद्यालय भवन निर्माणमा २५ लाख ५० हजार भ्रष्टाचार

काठमाडौँ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ मा रहेको श्रीकृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा २५ लाख ५० हजार रुपैयाँ बराबरको अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विद्यालय भवन निर्माणका लागि २४ लाख रुपैयाँ अनुदान तथा २१ लाख १० हजार ८९२.५९ रुपैयाँ जनसहभागिताबाट गरी कुल ४५ लाख १० हजार ८९२.५९ रुपैयाँ को लागतमा चार कोठे आर.सी.सी. भवन निर्माण गर्ने सम्झौता भएको थियो। उक्त निर्माण सम्पन्न भएपछि अख्तियारले स्थलगत अनुगमन, निरीक्षण र नापजाँच गराउँदा निर्माण कार्यमा गम्भीर अनियमितता भएको पाइएको छ।
अख्तियारको प्राविधिक प्रतिवेदनअनुसार सम्झौता, लागत ईष्टिमेट र नापी नक्सा अनुसार भवन निर्माण भएको देखिएन। इष्टिमेट अनुसारको सामान प्रयोग नगरिएको, ठाउँठाउँमा प्लास्टर फुटेको, भुइँको पि.सि.सि. चर्किएको, सिलिङ्गमा रड बाहिर देखिने गरी ढलान भएको, ढलान कमजोर र कमसल देखिएको, बिम बाङ्गिएको, दोस्रो तलाको सिलिङ्गमा पनि बिम बाङ्गिए देखिएको तथा सम्पूर्ण ढलानको कम्प्याक्सन कमजोर भएको उल्लेख छ।
पठनपाठनका लागि भवन प्रयोग गर्न अयोग्य रहेको र जोखिमपूर्ण अवस्थामा रहेको स्पष्ट गरिएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकाको प्राविधिक प्रतिवेदनमा समेत गुणस्तरहीन सामग्री प्रयोग गरिएको, बिम चर्किएको, फिनिसिङ नभएको र भवन पठनपाठन योग्य नरहेको उल्लेख छ।
कमजोरी देखिँदा देखिँदै पनि निर्माणको जिम्मेवारी बहन नगरी विद्यालयको खातामा रोक्का रहेको रकम निकासा गर्न मूल्याङ्कन प्रतिवेदनमा हस्ताक्षर गरी २५ लाख ५० हजार निकासा गरिएको पाइएको छ। त्यस्तै फिल्डमा नभएको कार्यसमेत नापी किताबमा समावेश गरी ४१ लाख २० हजार ४२८।६८ बराबरको मूल्याङ्कन प्रतिवेदनलाई सदर गरिएको देखिएको अख्तियारको दाबी छ।
गुणस्तरहीन कार्य सुधार नगरी बजेटको अति आवश्यक देखाई झुट्टा बिल भरपार्इका आधारमा रकम निकासा गर्न सिफारिस गरी आफैं लाभ लिने र नेपाल सरकार तथा सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुर्याउने बदनियतसहित उक्त कार्य गराइएको ठहरसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।













