सुदूरपश्चिममा पर्यटन विकासका लागि एशियाली विकास बैंकको अध्ययन सार्वजनिक

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई दिगो र समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्न एशियाली विकास बैंक (एडिबी) ले नयाँ सिफारिसहरू सार्वजनिक गरेको छ। ‘सुदूरपश्चिम एकीकृत आर्थिक तथा पर्यटन विकास अध्ययन’मा आधारित यी सुझावहरू धनगढीमा आयोजित एक विशेष गोष्ठी तथा पूर्व–लगानी सम्मेलनमा प्रस्तुत गरिएको हो।
कार्यक्रममा संघीय सरकार, प्रदेश सरकार, निजी क्षेत्रका अगुवा, अन्तर्राष्ट्रिय विकास साझेदार र विदेशी कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो। गोष्ठीमा सुदूरपश्चिमको पर्यटन तथा लगानीका सम्भावनामाथि छलफल भएको थियो। एडिबीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आग्रहमा यो अध्ययन तयार पारेको हो। सन् २०२२ मै प्रदेशको पर्यटन गुरुयोजना पनि एडिबीले बनाएको थियो।
नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले सुदूरपश्चिम प्रदेशको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता अत्यन्तै मनमोहक भएको तर पर्यटन क्षेत्रको पूरै सम्भावना अझै प्रयोग नभएको बताए। उनले यातायात पहुँच, नयाँ गन्तव्यहरूको विकास र जनशक्तिको सीप वृद्धि गरेर सुदूरपश्चिमलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गरे।
त्यस्तै एडीबीले तयार पारेको योजना प्रदेशको पहुँच, सन्तुलित पर्यटक प्रवाह, सुशासन, वातावरणको संरक्षण, दक्ष जनशक्ति विकास र निजी क्षेत्रलाई आकर्षित गर्ने उपायमा आधारित भएको र यस क्षेत्रमा क्षेत्रीय सहकार्य पनि आवश्यक भएको बताए।
कोश्वाले वातावरणमैत्री पर्यटन विकासको महत्व पनि जोड दिँदै अबको पर्यटन विकास गर्दा सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य र वातावरण भविष्यका पुस्ताका लागि सुरक्षित कसरी राख्ने भन्नेमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा परराष्ट्र मन्त्री आरजु राणा देउवा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह सहभागी थिए।
सन् १९६६ मा स्थापना भएको एडिबी एसिया र प्रशान्त क्षेत्रका ५० सदस्य राष्ट्रसहित ६९ देशहरूको साझा संस्था हो जसले गुणस्तरीय पूर्वाधार, जनजीविकाको सुधार र वातावरण संरक्षणका लागि नवीन उपायहरू प्रयोग गर्दै आएको छ।











