प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदै

२७ जेष्ठ २०८२, मंगलवार १०:०१

काठमाडौं । गिट्टी–ढुङ्गा निर्यातसम्बन्धी बजेट प्रावधानलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको यो मुद्दा आइतबार सर्वोच्चमा दर्ता भएको हो। त्रिपाठीले सरकारले सर्वोच्च अदालतको पूर्व आदेश विपरीत बजेटमा फेरि गिट्टी, ढुंगा, बालुवा लगायतका निर्माणजन्य सामग्रीको निर्यात खुला गर्ने प्रावधान राखेको भन्दै मुद्दा दर्ता गराएका हुन्।

वि.सं. २०७८ साल जेठ १५ गते तत्कालीन अर्थमन्त्री पौडेलले ल्याएको बजेटमा यस्ता सामग्री भारत निर्यात गर्न सकिने उल्लेख गरिएको थियो। त्यस प्रावधानविरुद्ध त्रिपाठीले त्यसैबेला सर्वोच्चमा रिट हालेका थिए जसमा सर्वाेच्चले उक्त बुँदा तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

तर पछिल्लो बजेटमा सरकारले फेरि त्यही पुरानो प्रस्ताव लिएर आएको भन्दै अधिवक्ता त्रिपाठीले अदालतको आदेशको अवहेलना भएको दाबी गरेका छन्।

उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई न्याय प्रशासन ऐनअनुसार एक वर्षसम्मको कैद र जरिवाना गर्न, सार्वजनिक पदमा रहन अयोग्य घोषणा गर्न र बजेट बुँदा ८७ तत्काल रोक्न माग गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*