विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब रुपैयाँ नाघ्यो, १७.४ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ । केन्द्रिय बैंकले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो ।
चालु आवको असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । १० महिनाको अवधिमा २३.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति वैशाखसम्ममा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको थियो ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ वैशाख मसान्तमा ५६.८ प्रतिशतले वृद्धि भई ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ । २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।













