सर्वाेच्चमा तीन न्यायाधीश सिफारिस, एक अझै रिक्त

काठमाडौं । न्याय परिषद्ले सर्वाेच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस गरेको छ। चारवटा पद रिक्त भएपनि परिषद्ले तीन जनाको नाम मात्रै सिफारिस गरेको हो।
परिषद्को बिहीबार बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वाेच्चमा सिफारिस गरेको हो।
अब संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्ने छ। सुनुवाइ पूरा भएपछि मात्रै न्यायाधीशको नियुक्ति हुने व्यवस्था छ।
पोखरेल सर्वाेच्च अदालत बार एसोसिएसनको बहालवाला अध्यक्ष हुन्। यता श्रीकान्त पौडेल सर्वाेच्चको रजिष्ट्रार हुँदै उच्च अदालतको न्यायाधीश भएका थिए। उनी हाल उच्च अदालत जनकपुरको मुख्य न्यायाधीश छन्।
त्यस्तै शान्तिसिंह थापा भने जिल्ला न्यायाधीश हुँदै उच्चमा नियुक्ति भएकी थिइन्। उनी उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश हुन्।
प्रधानन्यायाधीश सहित २१ न्यायाधीश रहने सर्वाेच्च अदालतमा वि.सं २०७८ सालयता पूरा न्यायधीश नियुक्ति भएका छैनन्। हाल सर्वाेच्चमा १७ जना न्यायाधीश कार्यरत् छन्। सिफारिस भएका तीनैजनाको नियुक्ति भएपछि एउटा पद भने अझै रिक्त रहनेछ।













