चिनियाँ राजदूत चेन सोङ्ग झापाका बिर्तामोड र अर्जुनधारामा आयोजित कार्यक्रमहरूमा सहभागी

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग झापाका बिर्तामोड र अर्जुनधारामा आयोजित कार्यक्रमहरूमा सहभागी भएका छन्। उनी अर्जुनधारा नगरपालिकाको शनिश्चरे मावि र बिर्तामोड नगरपालिका गरामनीमा रहेको दुर्गा माविमा आयोजित कार्यक्रमहरूमा व्यस्त रहे।
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट र न्यू लाइट फाउन्डेसनको सहयोगमा मंगलबार शनिश्चरे माध्यमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
राजदूत सोङ्गले शनिश्चरे माध्यमिक विद्यालयमा आधारभूत तहका ५०२ विद्यार्थीहरूलाई शैक्षिक सामग्री र स्वास्थ्य सामग्रीसहितको स्कुल ब्याग वितरण गरे। यसका साथै, १० जना विद्यार्थीहरूलाई जनही १० हजार रुपैयाँ नगद सहायता र ठूलो परिमाणमा खेलकुद सामग्रीसमेत प्रदान गरे।
कार्यक्रमपश्चात् उनले विद्यालयलाई एक लाख रुपैयाँ नगद सहयोगसमेत प्रदान गरे। त्यस्तै, दुर्गा माध्यमिक विद्यालयका आधारभूत तहका ३६२ जना विद्यार्थीहरूलाई पनि शैक्षिक सामग्री र स्वास्थ्य सामग्रीसहितको स्कुल ब्याग, १० जना विद्यार्थीहरूलाई जनही १० हजार रुपैयाँ नगद सहायता, र ठूलो परिमाणमा खेलकुद सामग्री वितरण गर्नुका साथै एक लाख रुपैयाँ नगद सहयोग प्रदान गरे।
दुवै विद्यालयमा सम्पन्न कार्यक्रममा चिनियाँ राजदूत चेन सोङ्ग, सीएफआरडीका कन्ट्री डाइरेक्टर जोउ झिक्याङलगायतका विशिष्ट चिनियाँ पाहुनाहरूको उपस्थिति रहेको थियो।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको विशेष पहलमा झापा आएका राजदूत सोङ्गलाई मंगलबार अर्जुनधारा नगरपालिकामा स्वागत गरिएको छ।
उनलाई नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायत नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरूले स्वागत गरेका थिए।
सभामुखका स्वकीय सचिव केशवराज ढुङ्गेलका अनुसार, राजदूतको यस भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ, जसको मुख्य उद्देश्य औद्योगिक क्षेत्रको विकासमा चिनियाँ सरकारको साझेदारीका लागि सम्भाव्यता अध्ययन गर्नु रहेको छ।
राजदूत सोङ्गको चार दिनसम्म झापाको बिर्तामोड र अर्जुनधाराका विभिन्न महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ।
भ्रमणको क्रममा उनले मंगलबार नै अर्जुनधारा क्षेत्रमा सञ्चालनमा रहेका सुपारी तथा बाँसको कच्चापदार्थबाट सामग्री उत्पादन हुने उद्योगहरूको अवलोकन गरेका थिए।











