निर्जिवन बीमा क्षेत्रमा प्राईस कटिङ-क्यासब्याक धन्दा मौलाउँदै

काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा नियामक आफैले बीमा पुलमार्फत व्यवसाय बाँडफाँड गरेर नीतिगत भ्रष्टाचार यथावत रहेको छ भने बाँकी रहेको खुल्ला क्षेत्रमा समेत नियामकले तोकेको ट्यारिफमा क्यासब्याक, प्राइस कटिङ गर्ने अस्वस्थ्य प्रतिस्पर्धा मौलाउँदै गएको छ ।
प्राधिकरणले तोकिएको दररेटमा प्राइस कटिङ गर्न नपाइने स्पष्ट र कडा नियमलाई छलेर बीमा कम्पनीहरुले क्यासब्याक, अफर, कार्यक्रम खर्च बापतको बिल भुक्तानी, सल्लाहकार खर्च इत्यादि नाममा बीमा शुल्क फिर्ता दिई प्राइस कटिङ भइरहेको छ । बीमा क्षेत्रमा भइरहेको प्राइस कटिङबारे नियामक निकाय बीमा प्राधिकरणका सबैलाई जानकारी नभएको पनि होइन, तर तै चुप र मैचुपको अवस्थाबाट गुज्रिरहेको छ ।
बीमापोष्टको सम्पर्कमा आएका एक बीमा कम्पनीका सिईओले भने ‘मैले कुन कम्पनीको कुन कर्मचारीले कति प्रतिशत क्यासब्याक अफर दिए मैले प्रमाण नै दिन सक्छु, तर कारवाही हुन्छ भन्ने विश्वास नै छैन ।’ बीमा कम्पनीका सिईओले नै यस्तो अभिव्यक्ति दिनुका पछाडि प्राधिरकणले प्राइस कटिङका इस्युमा कारवाही नगर्ने स्पष्ट देखिन्छ ।
प्राइस कटिङ अहिले भर्खरै सुरु भएको बिषय होइन । विगतदेखिकै पुरानो रोगको पुनरावृत्ति मात्रै हो, अर्का एक सिईओले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘अपवाद बाहेक सबैले गरेका छन्, कसको कति प्रतिशत भन्ने मात्रै फरक हो ।’
निर्जीवन बीमा क्षेत्रमा प्राधिकरणले दररेट नै तोकेर शुल्क निर्धाण गरेको छ । बजारमा अस्वस्थ्य प्रतिस्पर्धाका कारण प्राइस कटिङ नयाँ रुपमा मौलाउँदै जानु चिन्ताको बिषय बन्न पुगेको छ । नेपाली निर्जीवन बीमा क्षेत्रमा लामो समय बिताएका तथा नेपाल इन्स्योरेन्स कम्पनीका पूर्व डिसिईओ बिक्रान्त पाण्डे प्राइस कटिङ, क्यास ब्याक जस्ता बिषय अनैतिक भएको बताउँदै नियमन भइरहेको छ भनेर आफूले विश्वास गर्ने बताउँछन् । पाण्डेले भने, ‘इन्स्योरेन्स अलमोस्ट गुडफेथमा हुनुपर्दछ । बीमादरमा पनि समय सापेक्ष बीमादर समायोजन हुनुपर्दछ । जोखिम कम छ, क्षति न्यून छ भने नियामकले समीक्षा गर्दछ जस्तो लाग्दछ । गुडफेथ कर्मचारीमा, कम्पनी, बीमा अभिकर्ता सबैमा हुनुपर्यो ।’
प्राइस कटिङ र क्यास ब्याकका कारण बीमा कम्पनीहरुको आम्दानी प्रभावित हुने गरेको छ । बीमा कम्पनीमा कार्यक्रम मार्केटिङका कर्मचारीहरुले आफ्नो कम्पनीमा व्यवसाय धेरै देखाउन यस्तो गलत अभ्यास गर्ने गरेका छन् । एक बीमा कम्पनीका सिईओको नाममा रहेको ८० लाख रुपैयाँको पेश्की अहिलेसम्म फस्र्यौट भएको छैन । सो रकम क्यासब्याक बापत बीमा गर्ने कम्पनी तथा तिनका सञ्चालकलाई फिर्ता दिन सिईओलाई बोर्डले नै अख्तियारी दिएको थियो । ति सिईओले राजिनामा गरेपछि ८० लाख रुपैयाँ क्यासब्याक दिन लिएको पेश्की फस्र्यौट नगर्दा अहिले पनि अख्तियारमा मुद्दा खेपिरहनु परेको अवस्था छ ।













