विश्व अर्थतन्त्र घट्ने प्रक्षेपणः रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्रले कस्ता चुनौतीको सामना गर्नुपर्ला ?

काठमाडौं । व्यापारमा बढ्दो तनाव र नीतिसम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी पूर्वानुमानमा कटौती गरेको जानकारी गराएको छ ।
विश्व बैंकद्वारा मंगलबार सार्वजनिक गरिएको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदनअनुसार, हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर घटाउने प्रभाव पारेको छ, जसमा सबै भू–भाग र आम्दानी वर्ग समावेश छन् ।
प्रतिवेदनअनुसार, सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर दुई दशमलव सात प्रतिशतबाट घटाएर दुई दशमलव तीन प्रतिशत बनाइएको छ । यस्तै, सन् २०२६ का लागि यो दर दुई दशमलव सात प्रतिशतबाट घटाएर दुई दशमलव चार प्रतिशतमा ल्याइएको छ ।
नेपालले जस्तो आयात–निर्यातमा भर पर्ने र रेमिट्यान्समा निर्भर राष्ट्रका लागि यस्तो अवस्थाले प्रत्यक्ष प्रभाव पार्न सक्ने छ । विश्व व्यापारमा कमी आउँदा नेपालको कृषि तथा उत्पादित बस्तुको मागमा कमि आउने लगायतका चुनौतिको सामना गर्नुपर्ने आर्थिक विज्ञहरुले धारणा व्यक्त गरेका छन् ।
रोजगारीमा संकट आएर खाडी मुलुक वा मलेसियाजस्ता प्रवासी श्रमिक केन्द्रहरुमा आर्थिक संकट गहिरिँदा नेपाली कामदारहरुको रोजागरी प्रभावित भएर नेपाली जनताको आर्थिक स्तर झनै घट्ने आंकलन गरिएको छ ।

नेपालले ब्याजदरको चुनौती पनि सामना गर्नुपर्ने देखिन्छ । विश्वव्यापी वित्तीय अनिश्चितताले नेपालमा लगानी, ऋण तथा मुद्रानितिमा समेत असर पर्ने छ ।
नेपाल लगायतका विकासोन्मुख देशलाई पनि विश्व बैंकले आफ्ना आर्थिक नीतिहरूमा सुधार, निर्यातमुखी उत्पादन प्रवर्धन, र प्रवासी कामदारका लागि नयाँ गन्तव्यहरूको खोजीमा प्राथमिकता दिनुपर्ने परामर्श दिएको छ ।
दक्षिण एशियामा विकासोन्मुख मुलकका रुपमा अघि बढीरहेको नेपालले पनि विश्व अर्थतन्त्रको गिरावट आकडाबाट रेमिट्यान्स, रोजगारी संकट, वैदेशिक व्यापार, ब्याजदरको चुनौती लगायतका समस्याको सामना गर्नुपर्ने देखिन्छ ।
विकसित देशहरूमा आगामी वर्ष एक दशमलव दुई प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ, जुन अघिल्लो अनुमानभन्दा केही कम हो । विकासशील तथा उदाउँदा बजार अर्थतन्त्रहरूमा सन् २०२५ को वृद्धिदर तीन दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ, जुन पूर्वानुमानभन्दा शून्य दशमलव तीन प्रतिशत अंकले कम हो ।
संयुक्त राज्य अमेरिकाको वृद्धिदर २०२५ मा एक दशमलव चार प्रतिशत मात्र रहने सम्भावना देखिएको छ, जुन अघिल्लो पूर्वानुमानभन्दा कम हो र सन् २०२४ को दुई दशमलव आठ प्रतिशत वृद्धिको तुलनामा आधा मात्र हो ।
युरोप क्षेत्र र जापान दुवैको वृद्धिदर शून्य दशमलव सात प्रतिशत रहने अनुमान गरिएको छ, जसले अघिल्लो अनुमानमा केही कमी आएको देखाउँछ । चीनको वृद्धिदर भने अघिल्ला पूर्वानुमानअनुसार यथावत् रहेको छ ।













