एयर इण्डियाको विमान दुर्घटनाको बीमा टाटा एआईजी सहित चार कम्पनीमा, करिब १५ अर्बको दावी

काठमाडौं । हिजो भारतको अहमदावादमा भएको एयर इण्डियाको बोईङ ७३७ ड्रिमलाईनर जहाज दुर्घटनामा भारतीय र अमेरिकी बीमा कम्पनीहरुमा दावी परेको छ ।
कूल २२९ जना यात्रु तथा १२ जना चालक दलका सदस्यको निधन भएको सो दुर्घटनामा करिब १५ अर्ब रुपैयाँको बीमा दावी पर्ने प्रारम्भिक अनुमान गरिएको इकोनोमिक टाईम्सले जनाएको छ ।
एयर इण्डियाको मुख्य स्वामित्व अहिले भारतको टाटा कम्पनीले लिएको छ । टाटा कम्पनी अमेरिकी पुनर्बीमा कम्पनी एआईजीको एउटा गु्रुपसँग मिलेर भारतमा जनरल बीमा सेवा पनि सञ्चालन गर्दै आएको छ । हिजोको जहाज दुर्घटनाको बीमा दावी टाटा एआईजी जनरल इन्स्योरेन्स कम्पनीमा परेको छ । सो लिड कम्पनी हो । उसले एयर इण्डियाको जोखिम हिस्सा ४० प्रतिशत लिएर बाँकी आईसीआईसीआई ल्याम्बोर्ड जनरल इन्स्योरेन्स, न्यू इण्डिया एस्युरेन्स र पिएसयु जनरल इन्स्योरेन्स कम्पनीले कूल ६० प्रतिशत जोखिम धारणा गरेका छन् । उल्लेखित कम्पनीहरुले पनि आफ्नो जोखिद विदेशी पुनर्बीमा कम्पनीलाई बाँडफाँड गरेकोले बहुराष्ट्रिय पुनर्बीमा कम्पनीमा एयर इण्डियाको जोखिम बाँडफाँड भएको देखिएको छ ।
आईकाओको नियम र भारतले मोन्ट्रियल कन्भेन्सन ट्रिटीका हस्ताक्षर गरेकोले जहाज दुर्घटनामा निधन भएकाको आफन्तलाई एक करोड ५० लाख भारु क्षतिपूति दिनुपर्नेछ । मोन्ट्रियल कन्भेन्सन ट्रिटी अनुसार जहाज दुर्घटनामा निधन भएका हरेक परिवारले १,२८,८२१ एसडिआर (१एसडिआर बराबर १९४.२९ नेपाली रुपैयाँ) क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ । सो आधारमा १२९ जना यात्रुका परिवारलाई एक करोड ४८ लाख ५४ हजार ८५२ रुपैयाँ बीमा बापत क्षतिपूर्ति दिनुपर्ने हुन्छ । सो आधारमा यात्रुको मात्रै तीन अर्ब ५० करोड भारु बीमा दावी भुक्तानी हुनेछ । यस बाहेक चालक दलका सदस्यहरुलाई छुट्टै भुक्तानी गर्नुपर्ने हुन्छ ।
समाचार अनुसार एयर इण्डियाले गत अप्रिल १ मा आफ्ना ३०० वटा जहाजको बीमा बापतको २० बिलयन डलरको बीमा पोलिसी नविकरण गराएको थियो । सो अनुसार जहाजको एभिएशन हल अल रिस्क सेक्सन अन्तर्गत बीमा गरिएको हुन्छ । सो आधारमा जहाजको मूल्य करिब १० अर्ब पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
हिजो दुर्घटनामा परेको जहाज भिटी एबिएन २०१३ देखि उडानमा आएको जहाज हो । तर, जहाज नयाँ पुरानो भन्दा पनि इन्जिनको आयुका आधारमा मूल्य निर्धारण गरिएको हुन्छ । २०२१ मा उक्त जहाजको मूल्याङ्कन ११५ मिलियन डलर गरिएकोले अहिले करिब ८० मिलियनसम्म मूल्याङ्कन आउन सक्ने अनुमान गरिएको छ ।
हिजोको दुर्घटनाको कूल बीमा दावी नेपाली रुपैयाँ अनुसार १५ अर्ब हाराहारीमा पर्ने देखिएको छ । यद्यपि प्रारम्भिक र विस्तृत अध्ययन पछि मात्रै यकिन रकम निर्धारण गरी बीमाङ्कीय मूल्याङ्कन समेतका आधारमा दावी भुक्तानी हुने गर्दछ ।
उता, जहाज चिकित्सक बस्ने होस्टलमा खसेर क्षति पुगेकोले टाटा ग्रुपले तेस्रो पक्षको क्षति व्यहोर्ने र हरेक निधन भएका परिवारलाई डेढ करोड भारु भुक्तानी गर्ने घोषणा गरेको छ । टाटाले भवन समेत नयाँ बनाईदिने घोषणा गरेको छ ।
उल्लेखित बीमा रकमको गणनामा जीवन बीमा गरेका बीमितहरुको बारेमा भने गणना गरिएको छैन ।













