निर्जीवन बीमा कम्पनीको बीमा दावी बक्यौता ४६ प्रतिशतले बढ्यो, ३० अर्ब दावी भुक्तानी गर्न बाँकी

३० जेष्ठ २०८२, शुक्रबार १३:२७

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई तिर्नुपर्ने बीमा दावी भुक्तानी उच्च अंकले बढेको छ । हालसम्म १४ वटा निर्जीवन बीमा कम्पनीको दावी भुक्तानी बक्यौता ३० अर्ब रुपैयाँ नाघेको बीमा प्राधिकरणले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले चालु आवको बैशाख महिनासम्म आफ्ना बीमितहरुलाई तिर्नु बुझाउनुपर्ने कुल बक्यौता रकम ३० अर्ब ३३ करोड बीमा दावी भुक्तानी दिन बाँकी रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता गत आर्थिक वर्षको बैशास मसान्तसम्मको अवधिको तुलनामा ४६ दशमलव ८९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षमा २० अर्ब ६४ करोड रुपैयाँ बीमा दावी बक्यौता रहेको थियो ।

बीमा कम्पनीहरुको हेलचक्र्याई र बीमित र सर्भेयरहरुले समयमा नै आवश्यक विवरण उपबल्ध नगराउँदा बीमा दावी भुक्तानी ढिला भएको जानकार बताउँछन् । गत आवको असोज महिनामा आएको बाढी पहिरोले काठमाडौं लगायत देशभरीका भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । जसले गर्दा निर्जीवन बीमा कम्पनीहरुमा अर्बौै रुपैयाँको बीमा दावी थपिएको थियो ।

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा एक लाख १३ हजार ९३७ वटा बीमा दावी वापत १८ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले सम्पत्ति, हवाई, कृषि तथा पशुपन्छी तथा इन्जिनियर ठेक्का जोखा क्षेत्रका बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीहरुले गत आर्थिक वर्षको बैशाख महिनासम्ममा एक लाख १८ हजार ३१२ वटा बीमा दावी वापत १३ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी दिएको थियो । गत आर्थिक वर्षको तुलनामा बीमा दावी भुक्तानी रकम ३४ दशमलव ८० प्रतिशतले बृद्धि भएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको बीमा दावी भुक्तानीमा विभिन्न ठगीका सन्दर्भ तथा प्रहरी रिपोर्ट र सर्भेयरले बुझाएको विवरणका आधारमा बीमा दावी गर्ने प्रावधान रहेको छ । यस्ता सबै प्रक्रिया पुरा भएको खण्डमा बीमा कम्पनीहरुले सहजै बीमा दावी भुक्तानी गर्ने गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*