राहुघाट जलविद्युत् आयोजना निर्माणमा चरम ढिलासुस्ती

३० जेष्ठ २०८२, शुक्रबार १५:४७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) ६ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद यही जुन २७ मा सकिँदैछ ।

हालसम्म ७९ दशमलव ५० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका ठेकेदार कम्पनीले सन् २०२५ डिसेम्बर ३१ सम्म म्याद थपको प्रस्ताव गरेको छ । राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले ठेकेदारले गरेको म्याद थप प्रस्तावका विषयमा परामर्शदाता कम्पनी ‘वाकफोस’ले अध्ययन गरिरहेको बताए ।

विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले पनि विद्युत्गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन ।

भारतीय आयातनिर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।

विसं २०८२ असार १५ गतेभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार आयोजना निर्माणअघि नबढेपछि भारत सरकार, ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले चासो देखाएका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जासचिव सुरेश आचार्य र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यही जेठ १७ गते आयोजना अनुगमन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*