भारतले नेपाललाई दियो ४० वटा एम्बुलेन्स उपहार

१ असार २०८२, आईतवार ०८:२५

काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लामा स्वास्थ्य सेवा सुधार गर्न ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। यी एम्बुलेन्स काठमाडौं, वीरगंज, पोखरा र धरानमा आयोजित संयुक्त समारोहमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।

काठमाडौंस्थित भारतीय दूतावास, वीरगंजको महावाणिज्य दूतावास तथा पोखरा र धरानका पेन्सन भुक्तानी कार्यालयमा आयोजना गरिएका कार्यक्रममा देशका सातै प्रदेशका ३३ जिल्लामा पठाइने गरी एम्बुलेन्स प्रदान गरिएका हुन्। बाँडफाँड अनुसार २२ वटा एम्बुलेन्स काठमाडौंमा, ७–७ वटा वीरगंज र पोखरामा तथा ४ वटा धरानमा हस्तान्तरण गरिएको हो।

काठमाडौंको कार्यक्रममा भारतीय राजदूतावासका उप–प्रमुख प्रसन्न श्रीवास्तवले एम्बुलेन्सका चाबीहरू विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधि, राजनीतिक दलका व्यक्तिहरु र सामाजिक क्षेत्रका अगुवाहरूको उपस्थिति थियो।

श्रीवास्तवले स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा नेपालका प्रयासमा भारतले निरन्तर साथ दिँदै आएको बताउँदै यस्ता सहयोगले दुई देशबीचको गहिरो विकास साझेदारी झल्किने बताए। उनले भारत–नेपाल सम्बन्ध सात दशकदेखि लगातार विस्तार र सुदृढीकरण हुँदै आएको पनि स्मरण गराए।

यस्तै वीरगंज, पोखरा र धरानमा भएको कार्यक्रममा स्थानीय प्रतिनिधिहरूले भारत सरकारप्रति आभार प्रकट गर्दै एम्बुलेन्सले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भारतले सन् १९९४ यता नेपाललाई १०४९ वटा एम्बुलेन्स उपहार दिइसकेको छ। यस्तै ३०० वटा स्कुल बस, निर्वाचन प्रयोजनका लागि २०० सवारी साधन र सगरमाथा संवादका लागि १५ वटा विद्युतीय गाडी पनि भारतले नेपाललाई प्रदान गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*