बजेट छलफल अघि अर्थमन्त्रीद्वारा पृष्ठभूमि प्रस्तुत: अनिवार्य दायित्व १३ खर्ब, बहुवर्षीय दायित्व ६ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि संसदमा छलफल सुरु गर्नुपूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्रीले बजेटको पृष्ठभूमिसम्बन्धी महत्वपूर्ण विवरण सार्वजनिक गरेका छन्।
अर्थमन्त्रीले चालु आर्थिक वर्षको सुरुआतमा सरकारी कोष ऋणात्मक अवस्थामा रहेको उल्लेख गर्दै २२५ अर्ब घाटाबाट वर्षको थालनी गरिएको जानकारी दिए। त्यससँगै राजस्व वृद्धिको लक्ष्य ३१ % ले बढाउने प्रस्ताव गरिएको उनले स्पष्ट पारे।
सरकारको कुल राजस्वमध्ये ३५ प्रतिशत हिस्सा केवल साँवा र ब्याज भुक्तानीमा खर्चिनुपर्ने अवस्था देखिएको छ। साथै, सरकारले पूरा गर्नुपर्ने बहुवर्षीय दायित्व ६ खर्ब रुपैयाँभन्दा माथि पुगेको र अनिवार्य दायित्वको आकार झण्डै १३ खर्ब रुपैयाँ पुगेको तथ्य पनि उनले संसदमा प्रस्तुत गरे।
बजेटको आकार सन्तुलित बनाउने अठोटसहित यो वर्षको बजेट तयार पारिएको मन्त्रीको भनाइ थियो। यस्तै, अन्तरसरकारी वित्त हस्तान्तरणका सन्दर्भमा आयोगले तोकेको सीमा भन्दा करिब ४ अर्बले बढी बजेट विनियोजन गरिएको जानकारी पनि उनले दिए।













