एयर इन्डिया विमानको दुर्घटनामा हालसम्मकै महँगो उड्डयन बीमा दाबी, प्रिमियम दरमा प्रभाव

काठमाडौं । भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डिया विमानको दुघटनामा हालसम्मकै महँगो उड्डयन बीमा दाबी पर्न सक्ने अनुमान गरिएको छ । भारतीय सञ्चार माध्यम इण्डिपेन्डेन्टका अनुसार भारतीय हवाई उड्डयन बीमा क्षेत्रमा उक्त घटनाले नयाँ मोड लिनसक्नेछ ।
यो दुर्घटनाले भविष्यमा उड्डयन बीमा प्रीमियमको दरलाई बढाउन सक्ने भारतीय बीमा अधिकारीहरुको भनाई रहेको छ । जसको कारण उड्डयन बीमा प्रीमियम दरमा प्रभाव पर्ने देखिएको छ । भारतमा हवाई बीमाको प्रिमियम बृद्धि भएमा त्यसले प्रत्यक्ष असर नेपालमा समेत पर्न सक्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार पछिल्लो समय सन् २०२४ को मध्यदेखि सन् २०२५ को यो अवधिसम्म कोरियाको जेजु एयरलाइन्सको जहाज दुर्घटनापछि यो ठूलो दुर्घटना हो । जसरी बोइङ ड्रिमलाइनर ठूलो जहाज चालकदलका सदस्यसहित दुई सय ४२ जना सवार उक्त जहाज दुर्घटनाले अन्तर्राष्ट्रिय जगतको मात्रै ध्यान खिचेको छैन, बोईङ कम्पनीकै साख गिर्न पुगेको छ ।
बीमा दाबी रकम २११ मिलियन डलर देखि २८० डलरसम्मको अमेरिकी डलरभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको घटनासँग परिचित व्यक्तिहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम इण्डिपेन्डेन्टले लेखेको छ ।
त्यस्तै, नव भारतमा एयरलाइन्स इन्स्योरेनस ब्रोकर्सका एविएशन हेड सौरव विश्वासले महँगो उड्डयन बीमा दाबी पर्ने दाबी गरेका छन् । अनुमानित बीमा भुक्तानीमध्ये विमानको मूल्य (हल लस) मात्र लगभग १० अर्ब नेपाली रुपैयाँ बराबर क्षति भएको अनुमान गरिएको छ । यस्तै, यात्रु क्षतिपूर्ति (प्यासेन्जर लाइबिलिटी कम्पेन्सेसन) तीन अर्ब ६० करोड न्यूनतम्देखि माथि पाँच अर्ब नेपाली रुपैयाँसम्म पर्नसक्ने अनुमान गरिएको छ । एयर इन्डियाले आफ्नो सम्पूर्ण जहाजहरुको २० अर्ब डलर बराबरको उड्डयन बीमा कार्यक्रममार्फत गत अप्रिल १ मा मात्रै नविकरण गराइएको पाइएको छ ।
यसमा हल (विमानको मूल्य) र लायबिलिटी (उत्तरदायित्व) कभरेज केही जोखिमको अन्डरराइटिङ गरिरहेको टाटा समूहअन्तर्गतको कम्पनी टाटा एआइजी र अन्य स्वदेशी बिमकहरुमा विभाजन गरिएको छ । पुनर्बिमा संरचना एक अन्तर्राष्ट्रिय कन्सोर्टियमले नेतृत्व गरेको छ । जसमा एआइजी प्रमुख रहेको छ भने न्यू इन्डिया एस्युरेन्स र जीआइसी रि जस्ता सार्वजनिक संस्थाहरुको पनि सहभागिता छ ।
दुर्घटनापछि न्यू इन्डिया एस्युरेन्स र जीआइसी रि दुवैको सेयर मूल्य क्रमशः ४ प्रतिशत र ३ प्रतिशतले घटेको छ । दुर्घटनामा परेको विमान बोइङ ७८७–८ ड्रीमलाइनरको सन् २०२१ मा १५ करोड डलरमा रिन्सुरेन्स गरिएको थियो ।
बुधबार भारतको पश्चिमी शहर अहमदाबादबाट २४२ जना सवार एयर इन्डियाको विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार २४१ जनासहित कम्तिमा २९० जनाको मृत्यु भएको प्रारम्भिक तथ्याङ्क बाहिर आएको छ । निधन हुने अन्य व्यक्तिहरुमा जहाज खसेको होस्टलका चिकित्सक, कर्मचारी र अन्य मानिसहरु रहेका छन् ।













