आईजिआई प्रुडेन्सियलले पुनर्बीमामा त्रुटी गर्दा डुब्यो ७० करोड, कति वर्ष मुनाफा दिन सक्दैन ?

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष हेमराज ढकाल, सिईओ युगेशभक्त वादे श्रेष्ठ तथा पुनर्बीमा प्रमुख प्रिति बानियाँको कारण सर्वसाधारणको अर्बौ रुपैयाँ लगानी जोखिममा परेको छ । यद्यपि कम्पनीका डेपुटी सिईओ शरण रेग्मीले भने पर्याप्त मात्रामा पुनर्बीमा व्यवस्था गरिएको दावी गरेका छन् ।
गत भदौं २३ र २४ गते भएको देशव्यापी आन्दोलनको क्रममा भाटभटेनी सुपर मार्केटमा ठूलो क्षति भयो । कूल २८ वटा शाखा मध्ये २१ वटा शाखामा तोडफोड, आगजनी तथा लूटपाटका घटनाहरु भए । सो घटनामा भाटभटेनीका ११ वटा शाखाको बीमा दावी आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा परेको छ । भाटभटेनीमा पुगेको क्षतिको कम्तीमा साढे दुई अर्ब भन्दा बढि बीमा दावी आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स परेको छ । यद्यपि कम्पनीले बीमा प्राधिकरणमा बुझाएको तथ्याङ्कका एक अर्ब ४७ करोड मात्रै देखाइएको छ ।
अत्याधिक दावी परेको कुरा लुकाउन कम्पनीले तथ्याङ्क समेत सही नदिएको पाइएको छ । साढे दुई अर्ब दावी मध्ये करिब ३० प्रतिशत हिस्सा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले व्यहोर्नु पर्ने देखिएको छ ।
हुलदंगा तथा आतंकवाद अन्तर्गतको बीमा शुल्क रकम ६५ प्रतिशत (करिब) नेपाल पुनर्बीमा कम्पनी र बाँकी ३५ (करिब, गणना गर्दा ३० प्रतिशतसम्म हुनसक्छ) बीमा गर्ने कम्पनीले नै व्यहोर्ने ट्रिटी रहेको छ । उक्त व्यवस्था अनुसार आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी कम्तीमा ७० करोड भन्दा बढि दावी तिर्नुपर्ने अवस्थामा रहेको छ ।
कूल चुक्ता पुँजि तीन अर्ब दुई करोड ९३ लाख रुपैयाँ रहेको कम्पनीको गत आवमा जम्मा मुनाफा ३६ करोड ४९ लाख रुपैयाँ कमाएको अवस्था छ । सो आधारमा कम्पनीले कम्तीमा आगामी तीन वर्ष मुनाफा वितरण गर्न नसक्ने विश्लेषण शेयर बजारमा भइरहेको छ ।
कम्पनीले हुलदंगा तथा आतंकवाद बीमा गराए बापत बीमितसँग शुल्क लिने तर उक्त शुल्क पुनर्बीमा कम्पनीलाई समेत बाँडफाँड गरी पुनर्बीमा नगरी एक्लै खान खोज्दा अहिले एक्लै तिर्नुपर्ने अवस्थामा आएको हो ।
जोखिममा आधारित पुँजिकोषको सिद्धान्त अनुसार पुँजिकोषले धान्ने मात्रै व्यवसाय गर्नुपर्नेमा आईजिआईले आफ्ना विवरणहरु लुकाएर तथ्याङ्क राख्ने गरेको यस घटनाबाट उजागर हुन आएको छ । हुलदंगा तथा आतंकवाद बीमामा मात्रै चुक्ता पुँजिभन्दा बढि जोखिम धारण गरेको देखिनु नियामक माथि समेत प्रश्न चिन्ह खडा हुन आएको छ ।
बीमाको सिद्धान्त र नियम अनुसा चुक्ता पुँजिको निश्चित प्रतिशतसम्म मात्रै जोखिम धारण गर्न पाइन्छ । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बीमाको सिद्धान्त र नियामकलाई समेत चुनौति दिँदै गर्नै पर्ने पुनर्बीमा समेत नगरी कम्पनीका अध्यक्ष, सिईओ र पुनर्बीमा प्रमुख मिलेर सर्वसाधारणको लगानी र बीमितको बीमा शुल्क जोखिममा पार्ने कार्य गरेका छन् । कम्पनीका एक अधिकारीले पुनर्बीमा नगरेको स्वीकार गर्दै भने, ‘यस्तो घटना होला भन्ने कल्पना गरिएको थिएन ।’
सो सम्बन्धमा जिज्ञाशा राख्दा डेपुटी सिईओ शरण रेग्मीले आफूहरुले पुनर्बीमाको पर्याप्त व्यवस्था गरेकोले कुनै समस्या नभएको बताए । उनले भने, ‘कुनै समस्या छैन, हामीले पूर्ण रुपमा रि इन्स्योरेन्सको व्यवस्था गरेका छौं । कुनै समस्या छैन । साथै हामीले दावी भुक्तानी प्रक्रिया समेत सुरु गरिसकेका छौं ।’ कम्पनीले दावी भुक्तानी समेत सुरु गरिसकेको जनाएको छ ।
*सम्पादन गरिएको ।













