मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बिक्री अवधि थप, असोज १५ सम्म आवेदन दिन सकिने

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई सार्वजनिक निष्काशन तथा बिक्री अवधि थप गरिएको छ। मागअनुसार आवेदन नपरेपछि फण्डको इकाई बिक्री अवधि असोज १५ गतेसम्मका लागि थप गरिएको हो।
मुक्तिनाथ म्युचुअल फण्ड २ ले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्काशन गरेको छ। यसबाट कुल १ अर्ब रुपैयाँ बराबरको इकाई निष्काशन हुनेछ।
कुल इकाईमध्ये न्यूनतम १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ। त्यसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंकका लागि र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि छुट्याइएको छ। बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
यसअघि इकाईमा असोज १ गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। तर मागअनुसार आवेदन नपरेपछि विवरण पुस्तिकामा रहेको व्यवस्थाअनुसार बिक्री अवधि थप गरी असोज १५ गते बैंकिङ समयपछि बन्द हुने गरी कायम गरिएको हो। मागभन्दा बढी आवेदन परेमा भने असोज १५ गतेअघि नै सूचना प्रकाशित गरी बिक्री बन्द गर्न सकिनेछ।
इकाईमा लगानी गर्न इच्छुकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। प्रतिइकाई १० रुपैयाँका दरले आवेदनबापत रकम भुक्तानी गर्नुपर्नेछ।
आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको मेरो शेयर अनलाइन प्रणालीबाट सी–आस्वा प्रणालीमार्फत दिन सकिनेछ।
मुक्तिनाथ म्युचुअल फण्ड २ को कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन्।











