मुस्ताङ नाका पूर्ण सञ्चालनमा: २०९ वटा विद्युतिय गाडी भित्रिए

५ आश्विन २०८२, आईतवार १३:०३

काठमाडौं । भन्सार विभागले रसुवा र तातोपनी नाकामा आएको प्राकृतिक विपत्तिका कारण व्यापार अवरुद्ध भएपछि वैकल्पिक व्यवस्था स्वरूप मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका)लाई पूर्णरूपमा सञ्चालनमा ल्याइएको जनाएको छ।

विभागका अनुसार असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द भएको थियो भने तातोपनी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोका कारण व्यापारिक आवागमनमा अवरोध भएको थियो।

नेपाल र चीनबीचको वैदेशिक व्यापारलाई सहज बनाउन भदौं ३० गतेदेखि मुस्ताङ भन्सार कार्यालय पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो। विभागका अनुसार असोज ४ गतेसम्म उक्त नाकाबाट २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालबाहक ढुवानी साधनमा रहेका मालवस्तु जाँचपास गरी ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन गरिएको छ।

यस नाकामा हाल आशिकुडा प्रणालीसमेत सञ्चालनमा आइसकेको विभागले जनाएको छ। साथै, नेपाल राष्ट्र बैंकले भदौं ३१ गते जारी गरेको परिपत्रअनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग भई प्रतितपत्रमार्फत सामान आयात गर्न एकीकृत परिपत्र–२०८१ मा समावेश गरी सहजीकरण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*