जेन जी आन्दोलनले निजी क्षेत्रमा ८० अर्बको क्षति, पुनःउत्थानमा सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रको पुनरुत्थानका लागि सरकार तयार रहेको प्रतिबद्धता जनाएकी छन्।
आइतबार सिंहदरबारमा उद्योगी व्यवसायी संघ, औद्योगिक घराना तथा अन्य प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको सधैं साथमा रहने बताइन्। उनले सरकार निजी क्षेत्रलाई आवश्यक सहयोग प्रदान गरेर पुनरुत्थानमा सघाउने स्पष्ट सन्देश दिइन्।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले आन्दोलनका क्रममा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्रस्तुत गरेका थिए। उनीहरूले काम गर्ने वातावरण सुरक्षित राख्नका लागि सरकारसँग सहयोग र सुरक्षा अपेक्षा रहेको बताए।
निजी क्षेत्रले कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण सुविधा, लगानी आकर्षण र आयकरमा छुट जस्ता उपायहरू अपनाउन सरकारसँग आग्रह गरेको थियो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालका अनुसार प्रधानमन्त्रीले यी सुझावप्रति सकारात्मक प्रतिक्रिया जनाएकी छिन्।
प्रतिनिधिहरूले युवा पुस्ताको आन्दोलनका क्रममा भएको अनधिकृत प्रवेशका कारण निजी क्षेत्रमा ठूलो जनधनको क्षति भएको र दोषीमाथि कारबाही आवश्यक रहेको पनि जोड दिए।













