अर्थमन्त्री खनाल र एडीबी कन्ट्री डाईरेक्टर कोस्वाबीच भेट, विकास आयोजना निरन्तरतामा छलफल

६ आश्विन २०८२, सोमबार १३:३३

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एशियाली विकास बैंक (एडीबी) का कन्ट्री डाईरेक्टर आर्नो कोस्वाबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ। भेटका क्रममा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे छलफल गर्दै एडीबीको सहयोगमा सञ्चालित कार्यक्रमहरूको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग विचार–विमर्श गरेका थिए।

छलफलमा अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै परिवर्तित परिस्थितिमा युवाहरूको चाहनाअनुसार सुशासन कायम गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए।

उनले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी तथा विभिन्न विकास आयोजना लगायतका क्षेत्रमा एडीबीले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै चालु आयोजनाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा एडीबीका कन्ट्री डाईरेक्टर कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पारे। बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा समेतको उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*