शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनद्वारा पदभार ग्रहण, यस्तो छ हस्ताक्षर गरेको पहिलो निर्णय

काठमाडौं । राष्ट्रिय नवप्रवर्तन केन्द्रका संस्थापक र प्रख्यात नवीनता विशेषज्ञ महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका छन् ।
उनको नियुक्ति युवाहरूका माग र देशभरका प्रदर्शनपछि शिक्षा र प्रविधि क्षेत्र सुधारका लागि गरिएको कदमका रूपमा हेरिएको छ । सोमबार शीतलनिवासमा शपथ लिएपछि उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्ने वित्तीक्कै उनले बैज्ञानिकहरुको समिति बनाउने निर्णयमा हस्ताक्षर गर्न नमानेपछि उनलाई कर्मचारीहरूले यो प्रक्रियागत कुरा भएको भन्दै सम्झाएपछि हस्ताक्षर गर्न तयार भएका उनले भने, ‘अहिले हस्ताक्षरचाहिँ गर्छु, तर, यो निर्णयलाई पछि मेरो टिमले हेर्नुपर्छ ।’
उनले भने, ‘मलाई सेवा सुविधा केही पनि चाहिँदैन । मन्त्रालयमै ओछ्याएर सुत्ने हो । मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाएर खान्छु र खुरुखुरु काम गर्छु ।’
पुनले भने, ‘म शिवजी भएदेखि त्रिनेत्र लगाएर यस्तो यस्तो गर्छु भन्ने थिएँ । अपर्झट मन्त्री भइएको छ । प्लान बनाएर आएको भए पो त । राजनीतिक क्षेत्रमा काम गरेर आएको भए यो गर्छु भन्ने हो । किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाएपछि अहिले नै के गर्छस भनेर कसरी भन्ने ।’













