शिक्षा मन्त्री महावीर पुनका तीन निर्देशन: कम्प्युटर शिक्षक, नतिजा छिटो, त्रिवि बगैँचा निर्माण

८ आश्विन २०८२, बुधबार १३:३२

काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले तीनवटा महत्वपूर्ण निर्देशन जारी गर्दै तुरुन्तै कार्यान्वयन गर्न आदेश दिएका छन्। मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्देशन सार्वजनिक गरेका छन्।

पहिलो निर्देशनअनुसार, हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा राख्नुपर्ने भएको छ। मन्त्री पुनले भनेका छन्, ‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्नेछ।’

दोस्रो निर्देशनअनुसार विश्वविद्यालयहरूले परीक्षा लिएको मितिले तीन महिनाभित्रै नतिजा प्रकाशित गर्नुपर्नेछ। मन्त्री पुनले चेतावनी दिए कि केही विश्वविद्यालयले परीक्षा लिएको आठ महिना देखि एक वर्षसम्म नतिजा सार्वजनिक नगर्दा विद्यार्थीहरू अपूरणीय क्षति भोगेका छन्। उनले भने, ‘ती विश्वविद्यालयहरूले बढीमा तीन महिनाभित्र नतिजा सार्वजनिक नगरेको खण्डमा तिनको अनुदान रोक्का गरिनेछ।’

तेस्रो निर्देशनअनुसार त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्याम्पसमा रहेको ठुलो झाडी फाँडेर सुन्दर बगैँचा र फुटपाथ निर्माण गर्ने निर्णय भएको छ। मन्त्री पुनले यस बगैँचासहितको क्षेत्रलाई आकर्षक बनाउने र विश्वविद्यालय परिसरलाई व्यवस्थित बनाउने योजना सार्वजनिक गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*