स्वास्थ्य बीमा अन्तर्गत आजदेखि काभ्रेका आठ केन्द्रबाट प्रथम सेवा सुरु

८ आश्विन २०८२, बुधबार १४:५०

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा सुरु गरेको छ। सो बिन्दुबाट सेवा सुरु गरेपछि जिल्लामा बीमाअन्तर्गत उपचार गर्ने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ ।

उक्त केन्द्रले आजदेखि स्वास्थ्य बीमाको प्रथम सेवा प्रदान गरेको केन्द्र प्रमुख कोपिला कार्कीले बताइन् । उनका अनुसार उक्त केन्द्रलाई आधारभूत अस्पतालका रूपमा व्यवस्थापन गर्न तत्कालै आवश्यक जनशक्ति तथा भौतिक संरचनासमेत निर्माण गर्न लागिएको छ । जनशक्तिको अभाव देखाउँदै सेवा सुरु नगरेको पाँचखाल नगरले आवश्यक व्यवस्थापन गरी आजदेखि औपचारिक रूपमा नियमित सेवा सुरु गरेको जनाएको हो।

यसअघि साउन अन्तिमसाता बीमा बोर्डसँग सम्झौता गरी जिल्लाको सबैभन्दा पूरानो बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पताल स्वास्थ्य बीमा बोर्डमा आबद्ध भई गत भदौदेखि सेवा सुरु गरेका थिए। त्यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृति पाइसकेका थिए ।

धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवालाई गत साउन २६ देखि धुलिखेल अस्पताल परिसरबाट सेवा सुरु गरेको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सेवा दिन आलटाल गरिरहेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*