भूकम्पले क्षतिग्रस्त भेनेजुएलालाई नेपालले मानवीय सहयोगसमेत गरेन

२२ असार २०८३, सोमबार १९:०४

काठमाडौँ । २०७२ साल वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पपछि विश्वका विभिन्न मुलुकले नेपालको दुःखमा साथ दिएका थिए। तीमध्ये भेनेजुएला पनि एउटा यस्तो देश थियो जसले केवल समवेदना व्यक्त गरेर मात्र सीमित नरही चिकित्सक, प्राविधिक टोली, औषधि, राहत सामग्री र आवश्यक सहयोग लिएर नेपाल आइपुगेको थियो। तर, आज त्यही भेनेजुएला आफ्नै इतिहासकै ठूलो प्राकृतिक विपत्तिसँग जुधिरहेका बेला नेपाल सरकार भने पूर्ण रूपमा मौन देखिएको छ।

असार १० गते भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा एक मिनेटभन्दा कम समयको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गए। ती भूकम्पका कारण हजारौं मानिसको ज्यान गएको, ठूलो संख्यामा घाइते भएको तथा सयौं मानिस अझै भग्नावशेषमुनि फसेको बताइएको छ। अन्तर्राष्ट्रिय उद्धार टोलीहरू निरन्तर खोज तथा उद्धार कार्यमा जुटिरहेका छन् भने विश्वका विभिन्न मुलुकले मानवीय तथा आर्थिक सहायता उपलब्ध गराइरहेका छन्।

तर, नेपाल सरकारले भने अहिलेसम्म न त कुनै राहत घोषणा गरेको छ न आधिकारिक रूपमा समवेदना व्यक्त गरेको छ न कुनै प्रकारको मानवीय सहयोगको प्रतिबद्धता जनाएको छ। विपत्तिको घडीमा नेपाललाई साथ दिएको मुलुकप्रति नेपालको यस्तो मौनताले सरकारको मानवीय संवेदनशीलता र कूटनीतिक प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएको छ।

नेपालले भेनेजुएलाको सहयोग बिर्सिएको जस्तो देखिन्छ। २५ अप्रिल २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि भेनेजुएला सरकारले नेपालका लागि विशेष प्राविधिक तथा मानवीय सहायता मिसन पठाएको थियो। उक्त टोलीमा चिकित्सकहरूको समूह, दुई जना फरेन्सिक इन्जिनियर र तीन जना प्राविधिक सहभागी थिए। उनीहरूले करिब २० दिन नेपालमा बसेर भूकम्पपीडितको अवस्था अध्ययन गरे, आवश्यकताको मूल्याङ्कन गरे र त्यसका आधारमा थप राहत व्यवस्थापनमा भूमिका खेले।

त्यसपछि पनि भेनेजुएलाले औषधि, खाद्यान्न, राहत सामग्री तथा विशेषज्ञ टोलीले आवश्यक ठहर गरेका अत्यावश्यक सामग्री बोकेको विमान नेपाल पठाएको थियो। कठिन परिस्थितिमा नेपाललाई साथ दिएको त्यो सहयोग नेपाली जनताले अझै सम्झिरहेका छन्। तर, अहिले भेनेजुएला आफैं संकटमा पर्दा नेपाल सरकारले सामान्य मानवीय उत्तरदायित्वसमेत निर्वाह गर्न सकेको छैन ।

नेपाल र भेनेजुएलाबीच २८ अप्रिल १९८७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुवै देशबीचको सम्बन्ध मुख्यतः संयुक्त राष्ट्रसंघ (यूएन) र असंलग्न आन्दोलनजस्ता बहुपक्षीय अन्तर्राष्ट्रिय मञ्चमार्फत अगाडि बढ्दै आएको छ। यद्यपि संकटको समयमा देखिनुपर्ने पारस्परिक सहयोग र सद्भावमा नेपाल सरकारको निष्क्रियताले दुई देशबीचको सम्बन्धलाई कमजोर बनाउने देखिएको हो ।

प्राकृतिक विपत्तिको समयमा सहयोग गर्नु कुनै देश धनी वा गरिब हुनुको विषय नभई त्यो मानवीय दायित्व र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मूल्य हो। आर्थिक रूपमा सीमित स्रोत भएका धेरै मुलुकले समेत आफ्नो क्षमता अनुसार समवेदना, राहत वा उद्धार सहयोग उपलब्ध गराइरहेका छन्। तर, नेपाल सरकारले कम्तीमा औपचारिक समवेदना सन्देशसमेत जारी नगर्नुलाई धेरैले कूटनीतिक असक्षमता र मानवीय संवेदनहीनताको उदाहरणका रूपमा हेर्न थालेका छन्।

भेनेजुएलामा भूकम्पपछि देखिएको अवस्था अत्यन्त भयावह छ। प्रभावित क्षेत्रहरूमा खाद्यान्न आपूर्ति अवरुद्ध भएको छ भने विद्युत्, खानेपानी र इन्टरनेट सेवा गम्भीर रूपमा प्रभावित भएका छन्। राजधानी नजिक रहेको देशकै सबैभन्दा ठूलो माइकेटिया सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलसमेत भूकम्पबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको छ। विमानस्थल बन्द गरिएपछि सबै व्यावसायिक उडान रद्द गरिएका छन्।

हालसम्म सयौं मानिस भग्नावशेषमुनि फसेको आशंका गरिएको छ। तीन हजार सात जना विस्थापित भएका छन्। प्रारम्भिक विवरणअनुसार ३८३ वटा भवनमा ठूलो क्षति पुगेको छ जसमा १३ वटा अस्पताल र २५ वटा व्यापारिक केन्द्रसमेत रहेका छन्। त्यसबाहेक १ हजार २ वटा अन्य संरचनामा विभिन्न स्तरको क्षति पुगेको छ। सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक ला ग्वाइरा राज्यमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सैनिक नियन्त्रण लागू गरिएको छ।

विश्वका विभिन्न मुलुकबाट उद्धारकर्मी, चिकित्सक, राहत सामग्री र आर्थिक सहायता निरन्तर भेनेजुएला पुगिरहेका छन्। अन्तर्राष्ट्रिय समुदायले मानवीय एकताको उदाहरण प्रस्तुत गरिरहेका बेला नेपाल सरकार भने दर्शक बनेको छ।

नेपालले विगतमा आफ्नै विपत्तिमा विश्व समुदायबाट पाएको सहयोग र सद्भावलाई सम्झिने हो भने आज भेनेजुएलाप्रति कम्तीमा मानवीय संवेदना व्यक्त गर्नु, आवश्यक परे आफ्नो क्षमता अनुसार सहयोगको घोषणा गर्नु र कूटनीतिक रूपमा ऐक्यबद्धता जनाउनु अपेक्षित थियो। तर, अहिलेसम्म सरकारको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया नआउनुले नेपालको अन्तर्राष्ट्रिय छवि, मानवीय मूल्यप्रतिको प्रतिबद्धता र कूटनीतिक परिपक्वतामाथि प्रश्न उठाएको छ।

विपत्तिको समयमा साथ दिने सम्बन्ध नै दीर्घकालीन कूटनीतिक सम्बन्धको सबैभन्दा बलियो आधार मानिन्छ। नेपाललाई कठिन घडीमा साथ दिएको भेनेजुएलाले आज आफ्नै पीडामा उस्तै साथको अपेक्षा गर्नु अस्वाभाविक होइन। तर, नेपाल सरकारको मौनताले त्यो अपेक्षामाथि नै प्रश्नचिह्न खडा गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*