बीमा सर्भेयर संघका सभापति ऋषि कोइराला निलम्बित, छानबिन समिति गठन

काठमाडौं । काठमाडौं । नेपाल बीमा सर्वेयर संघले संघका सभापति ऋषि कोइरालालाई निलम्बन गरेको छ। संघका सदस्य, सर्वेयर, बीमा कम्पनी तथा अन्य सरोकारवालाबाट प्राप्त लिखित तथा मौखिक गुनासामाथि छलफल गर्दै संघको कार्यसमितिले यस्तो निर्णय गरेको हो।
संघका अनुसार उठेका विषयहरू प्रारम्भिक रूपमा हेर्दा संस्थागत सुशासन, विधानको पालना तथा पेशागत प्रतिष्ठासँग प्रत्यक्ष सम्बन्धित देखिएकाले निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको हो।
संघले विधान, २०५९ को दफा ७(क) र ७(ग) बमोजिम कोइरालाको साधारण सदस्यता तत्काल प्रभावकारी हुने गरी र सभापति पदबाट समेत अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको जनाएको छ।
निलम्बन अवधिभर कोइरालाले संघको सभापति वा सदस्यको हैसियतमा कुनै पनि निर्णय, पत्राचार, प्रतिनिधित्व वा सार्वजनिक अभिव्यक्ति गर्न नपाउने व्यवस्था गरिएको छ। संघको दैनिक कार्यसञ्चालन, बैंक खाता तथा अभिलेखरछापसम्बन्धी जिम्मेवारी उपसभापति भानु कँडेलले सम्हाल्ने व्यवस्था गरिएको छ।
एक महिनाभित्र छानबिन प्रतिवेदन
उठेका विषयमा निष्पक्ष छानबिन गर्न संघका सचिव लोचन केन्द्र देवकोटाको संयोजकत्वमा तीन सदस्यीय स्वतन्त्र छानबिन समिति गठन गरिएको छ।
समितिले सम्बन्धित पक्षसँग लिखित स्पष्टीकरण माग गर्ने, सफाइको पूर्ण अवसर दिने तथा आवश्यक प्रमाण संकलन गरी एक महिनाभित्र कार्यसमितिसमक्ष प्रतिवेदन पेस गर्नेछ। प्रतिवेदन प्राप्त भएपछि कार्यसमितिले विधानबमोजिम अन्तिम निर्णय गर्ने संघले जनाएको छ। आरोप पुष्टि नभएको ठहर भएमा निलम्बन स्वतः फुकुवा हुने व्यवस्था छ।
संघले यो निलम्बनलाई कुनै पनि आरोप पूर्वनिर्णीत भएको अर्थमा नलिन स्पष्ट पारेको छ। निष्पक्ष र प्रभावकारी छानबिन सुनिश्चित गर्न गरिएको प्रक्रियागत व्यवस्था मात्रै भएको संघको भनाइ छ।
संघले संस्थागत सुशासन, पारदर्शिता, सामूहिक निर्णय प्रणाली तथा सर्वेयर पेशाको मर्यादाप्रति प्रतिबद्ध रहेको जनाएको छ। साथै नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, बीमा कम्पनी तथा सम्बन्धित सरोकारवाला निकायलाई छानबिन प्रक्रियामा सहयोग गर्न र आधिकारिक सूचनाबाहेकका विषयमा भ्रमित नहुन आग्रह गरेको छ।









