बालेनले ४ उद्योगीलाई अगाडि राखेर भने, ‘लगानी किन भइरहेको छैन?’ व्यवसायीले सुनाए गुनासो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा लगानीको वातावरण सुधारका विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी थिए।
छलफलका क्रममा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे विस्तृत कुराकानी भएको थियो।
उद्योगी विनोद चौधरीले सरकारका पछिल्ला गतिविधिका कारण लगानीको वातावरण बन्न नसकेको गुनासो निजी क्षेत्रबाट आइरहेको बताएका थिए। उनले लगानीकर्ताको मनोबल बढाउने गरी सरकारले स्पष्ट र विश्वासिलो वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
व्यवसायी पवन गोल्यानले नेपालमा व्यवसाय सञ्चालन गर्ने लागत अत्यधिक बढेकाले स्वदेशमै उद्योग सञ्चालन गरिरहेका व्यवसायी उत्साहित हुन नसकेको बताए। उनले व्यापारी र उत्पादनमूलक उद्योगीलाई फरक ढंगले हेर्नुपर्ने आवश्यकता औँल्याउँदै निर्माण, ऊर्जा, होटललगायत उत्पादन तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गरिरहेका उद्योगीसँग प्रधानमन्त्रीले कम्तीमा महिनामा एकपटक प्रत्यक्ष छलफल गर्ने संयन्त्र बनाउन सुझाव दिए।
छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्रीसँगको भेट सकारात्मक र फलदायी रहेको बताएका छन्। उनका अनुसार भेटमा आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धिका विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाएका थिए।
ढकालले प्रधानमन्त्रीको लगानीप्रतिको सकारात्मक धारणा निजी क्षेत्रका लागि उत्साहजनक रहेको बताएका छन्। मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक परे नयाँ कानुन ल्याएर भए पनि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता आएको उनले बताए।
निजी क्षेत्रका समस्या, सुझाव तथा नीतिगत विषयमा निरन्तर छलफल र समन्वय गर्न सरकार र निजी क्षेत्रबीच नियमित बैठक बस्ने गरी स्थायी संयन्त्र निर्माण गर्ने विषयमा पनि प्रधानमन्त्री सकारात्मक देखिएको ढकालले उल्लेख गरेका छन्।
ढकालका अनुसार प्रधानमन्त्रीसँगको भेटका लागि सुरुमा आधा घण्टाको समय तोकिएको थियो। तर छलफल करिब दुई घण्टासम्म चलेको थियो। उनले यसलाई अन्तरक्रिया कति अर्थपूर्ण र गम्भीर थियो भन्ने संकेतका रूपमा लिएका छन्।









