पहिलो पटक बीमा सर्भेयरलाई सरकारले सम्बोधन गरेको छः ऋषि कोइराला

३० भाद्र २०८३, मंगलवार १५:४१

भोटेकोशी बाढीबाट भएको क्षतिको सर्भेयरहरुले फिल्डमा काम गर्न सुरु गरिसकेका छन् । बीमा कम्पनीहरुले सर्भेयरहरुलाई कसरी काममा खटाईरहेका छन् ।

बीमा सर्भेयरले फिल्डको काम पछि मूल्यांकनको काम कति समयभित्र सक्छन् देखि यस अवस्थामा सर्भेयरको भूमिकाको बिषयमा बीमापोष्टले नेपाल बीमा सर्भेयर संघका अध्यक्ष ऋषि कोइरालासँग केही जान्ने प्रयास गरेका छौ ।

यसका साथै नेपालमा १ हजार २०० बाढी सर्भेयर छन् । जसमध्ये ९ सय सर्भेयर एक्टिभ छन् । उक्त ९०० मध्ये केहीले मात्रै वर्षभरी काम पाउँछन् । बाँकिले पालो कुर्दा पनि काम पाउन सक्ने अवस्था छैन । यो किन भएको देखि सर्भेयर यस बर्ष प्रधानमन्त्री कार्यालयदेखि अर्थमन्त्रालयसम्म लिएको गएको गुनासो के थियो र सुनुवाई भयो वा भएन भन्ने बिषयमा बीमापोष्टले नेपाल बीमा सर्भेयर संघका अध्यक्ष ऋषि कोइरालासँग गरेको संवाद:

अहिलेको विपदको क्षतिमा बीमा सर्भेयरले कसरी काम गरिरहेका छन् ?

क्षति भएपछि बीमा दाबी पर्नु नै निर्जीवन बीमा कम्पनीहरुका लागि सुन्दर पक्ष हो । अझ प्राकृतिक विपत्तिको अवस्थामा त झनै यसको महत्व बढी हुन्छ । बीमाले घरबारविहीन भएका नागरिकलाई यसले ठूलो आर्थिक राहत दिन्छ । अहिले अझै पनि क्षति यकिन भइसकेको छैन र प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले अहिले नै सर्भेयर जान सक्ने अवस्था छैन । अबको केही समयपछि सर्भेयरहरु क्षति भएको स्थानमा खटिन्छन् र स्वभाविक रुपमा बीमा गरेकाले क्षतिपूर्ति पाउँछन् ।

अहिले तत्कालै सर्भेयर खटेर रिपोर्ट पेश गर्न सक्ने अवस्था छ कि छैन?

अहिले तत्कालै सर्भेयर खट्न सक्ने अवस्था छैन । किनभने यो विपत्तिमा गाउँ, शहर नै बगेको अवस्था छ भने हजारौं अझै बेपत्ता छन् । क्षति बेहोरेका पीडित नै विस्थापित भएका छन् । उहाँहरुले आफ्नो व्यवहार मिलाएपछि बीमा दाबी गर्न आउनुहुन्छ अनि बल्ल प्रक्रिया अघि बढ्छ । उहाँहरु आएपछि हामी एकदमै छिटो र छरितो ढंगले दाबी भुक्तानी गराउन तयार छौं ।गत भदौ १६ गते प्रधानमन्त्रीका सल्लाहकार, अर्थमन्त्री, बीमक संघ, बीमा प्राधिकरणका अध्यक्ष तथा कार्यकारी निर्देशक, बीमा कम्पनीहरुका सीईओ र हामी सर्भेयर संघबीच छलफल भएको थियो। त्यसमा कसरी छिटो दाबी भुक्तानी हुन्छ भनेर छलफल भएको छ । छलफलमा जुनियरदेखि सिनियरसम्म सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गरेर बीमितलाई छिटो क्षतिपूर्ति दिने कुरा भएको थियो ।

सर्भेयरहरुले कस्तो गुनासो गर्छन्?
नयाँ आएका सर्भेयरहरुले काम नै नपाएको गुनासो गर्नुहुन्छ भने ५/१० वर्ष काम गरेका मध्यस्तरका सर्भेयरहरुले पनि क्षमता अनुसारको सेवा सुविधा नपाएको गुनासो गनुहुन्छ । यता सिनियर सर्भेयरहरु जसले २०÷३० वर्षदेखि काम गरिरहनु भएको छ, राज्यले आफूहरुलाई नचिनेको उहाँहरु गुनासो गर्नुहुन्छ । समग्रमा नयाँदेखि पुरानासम्मले आफ्नो क्षमताअनुसार काम गर्न पाउनुपर्यो भन्ने गुनासो छ । बीमा प्राधिकरणले सर्भेयरका लागि श्रेणी छुट्याइदिएको छ तर श्रेणीअनुसार काम नदिएको गुनासो पनि उत्तिकै छ ।

सर्भेयर ढिलो जाँदा क्षति मूल्यांकनमा फरक पर्छ कि पर्दैन?
अहिले त तत्कालै जान सकिने अवस्था नै छैन । कति क्षति भयो भन्ने विवरण राज्यले पनि ठम्याउन सकेको छैन । केहीदिन अघि यति अर्बको÷उति अर्बको क्षति भयो भनेर छिटफुट विवरण आएका छन् तर हामी त्यो पत्याउनै सक्दैनौं । तेत्रो गाउँदेखि शहर जम्मै बगाएको छ राज्य पनि क्षति कति भयो भनेर अझैसम्म खोजी गरिरहेको छ । खोज्दै जाँदा क्षतिको विवरण पनि बढ्दै गएको छ तर ढिलो पुग्यौं भन्दैमा मूल्यांकनमै फरक पर्छ भन्ने पनि होइन ।

सरकारले दिन भनेको ५० प्रतिशत अग्रिम भुक्तानी ठिक हो कि होइन?
ठिक बेठिक भन्दा पनि राज्यले आफ्नो ठाउँबाट पहल गरेको होला । मेरो बिचारमा २० देखि ३० प्रतिशत गर्दा राम्रो हुन्थ्यो । सरकारले एडभान्स दिन खोजेको जस्तो देखिन्छ तर ५० प्रतिशत दिंदा पछि समस्या आउन सक्छ । किनभने भोलि सोचेको जस्तो क्षति नभएको खण्डमा बीमितले लिएको रकम पनि फिर्ता गर्नुपर्ने अवस्था आउन सक्छ ।

ठूला–ठूला विपत्तिमा सर्भेयर खटिंदा कम्पनी वा राज्यले समन्वयकारी भूमिका खेलेको छ कि छैन ?
सबैभन्दा खुसीको कुरा अहिलेसम्मको कुनै सरकारले सर्भेयर पेशालाई चिनैकै थिएन तर यसपालिको सरकारले बल्ल चिनेछ । अहिलेको सरकारले नै निष्क्रिय सर्भेयरलाई पनि सक्रिय बनाएर फिल्डमा खटाउनुपर्छ भनेको छ । सुशासनलाई मुल मुद्दा बनाएको सरकारले सर्भेयर क्षेत्रलाई चलायमान बनाउनुपर्छ भनेको छ हामी यो कुराको स्वागत गर्छौं । सक्रिय रहेका सीमित सर्भेयरलाई मात्र खटाएर सकिंदैन त्यसैले निष्क्रिय रहेका सर्भेयरलाई पनि दक्षता र क्षमता अनुसार खटाउनुपर्छ। त्यसो गर्न सकियो भने दाबी भुक्तानी पनि छिटो हुन्छ ।

तपाईंहरुले सरकारलाई के गुनासो गर्नुभयो अनि सरकारले के भनेको छ?
सरकारले हामीलाई सबै सर्भेयरलाई क्षमता र आवश्यकताअनुसार खटाउनुपर्छ भनेको छ । हामीले अहिले सरकारसँग केही बोलेका छैनौं किनकी हामीले बोल्न खोजेको कुरा सरकार आफैंले बोलेको छ । सर्भेयरलाई रोटेशनमा लैजाने कुरा सरकार आफैंले हामीसँग गरेको छ । त्यसपछि सर्भेयरले छिटै काम सकेर दाबी भुक्तानी पनि छिट्टै हुन्छ । राज्य आफैंले अटोमेशनमा जानुपर्छ आफ्नो क्षमता बढाऊ हिजोको जस्तो तरिकाले चल्दैन भनेको छ । यदी काम पाइन्छ भने सर्भेयर सरकारले भनेको सबै काम मान्न तयार छ ।

सर्भेयर कम्पनीमैत्री भएर मात्रै काम गर्ने गरेको आरोप लाग्दै आएको छ नि वास्तविकता के हो?
सर्भेयरले व्यावसायिक भएर काम गर्ने हो। अघि भने जस्तै सर्भेयरको काम रोटेशनमा भयो भने कम्पनीसँग सरोकार नै हुँदैन कामसँग मात्र मतलब हुने भयो । यदि सर्भेयरले कम्पनीसँग काम मागेर गर्दा त्यस्तो अवस्था आउन सक्ने जोखिम भने रहन्छ। १०० जनामा एकदुई जनाले त्यस्तो गर्दा यी आरोप लागेको हो ।

सर्भेयरको रिपोर्टलाई बीमा प्राधिकरणले कत्तिको पुनः परीक्षण गर्छ?
त्यो ठिकै पनि हो । सर्भेयर पेशा व्यवस्थित र मर्यादित होस् भन्ने हामी सबैको चाहना हो । पहिले धेरै बीमा हुँदैनथ्यो तर अहिले बीमा धेरै हुन्छ जसकारण क्षति र दाबी पनि उत्तिकै बढेको छ। यस्तो हुँदा हामी कतिपयलाई चित्त बुझ्दैन र चित्त नबुझेपछि सम्बन्धित ठाउँमा गएर गुनासो गर्ने हक बीमितलाई पनि हुने नै भयो । समग्र बीमा क्षेत्र ने बढीरहँदा उजुरी पनि बढ्ने नै भयो र पुनः परीक्षण पनि बढ्ने नै भयो ।

कम्पनीले सर्भेयरलाई कसरी दिन्छ कामको भुक्तानी?
हामीले सर्भे प्रतिवेदन बुझाएको ३५ दिनभित्र पैसा पाइसक्नुपर्छ भन्ने हाम्रो माग हो । नत्र भने सर्भेयरले प्रतिवेदन बुझाउँदा बीमितको चित्त नबुझेको, कम्पनीको चित्त नबुझेको भनेर अड्काउने अनि मारमा चाहिं सर्भेयर पर्ने? सर्भेको काममा हामीले लगानी र समय दुबै खर्चिएको हुन्छौं तर समयमा पैसा पाइँदैन। हामीले काम अनुसार पैसा लिने हो कर्मचारीले जस्तो मासिक तलब पाउने होइन । अर्काे कुरा ५÷७ वर्षदेखि सर्भेयरको पैसा अड्किएर बसेको छ यसलाई छिटोभन्दा सेटलमेन्ट गरिनुपर्छ ।

विपदमा खटिने सर्भेयरले कसरी सुरक्षित भएर काम गर्छन्?
सर्भेयरको पनि एक्सिडेन्टल बीमा गरिनुपर्छ भन्ने हाम्रो माग छ । स्वभाविक रुपमा आफ्नो निश्चित क्षेत्र र मापदण्ड बनाएर आफ्नो सुरक्षालाई प्राथमिकतामा राखेर खटिनुपर्छ । मोटरबाट जान नसके ड्रोन अथवा हेली प्रयोग गरेर त्यहाँको वस्तुस्थिति पत्ता लगाएर सोही अनुसार सर्भेयर खटाउँछौं ।

सर्भेयरले वास्तविक क्षतिभन्दा कम क्षति देखाइदिने गरेको आरोपप्रति के भन्नुहुन्छ?
जबसम्म सर्भेयर स्वतन्त्र र रोटेशन हुँदैन तबसम्म यो समस्या जडैदेखि समाप्त हुँदैन । यसको समाधानका लागि अहिले राज्य पनि लागिरहेको छ । जेनजी आन्दोलनमा पनि सर्भेको चित्त नबुझेको भनेर गुनासो आएका थिए । कम्पनी, सर्भेयर र बीमा प्राधिकरण सबैले आ–आफ्नो ठाउँमा बसेर स्वतन्त्र ढंगले काम नगरेसम्म यस्ता घटनामा बेलाबखत घटिरहन्छन् ।

अन्त्यमा राज्य वा प्राधिकरणलाई केही भन्न चाहनुहुन्छ?
अहिलेको अवस्थामा त राज्य पनि यसमा लागि रहेकै छ । राज्यलाई सबैकुरा थाहा छ। अहिलेको सरकार सुशासनको नारा लिएर आएको हो अतः यी सबै कुरामा पनि सुशासन कायम राख्न सर्भेयर पेशालाई पनि व्यवस्थित र व्यावसायिक बनाउनपर्छ । यदि पीडितले समयमै भुक्तानी पाएमा समाजमा सकारात्मक सन्देश जान्छ र सबैले बीमा त गर्नुपर्ने रहेछ भनेर बुझ्नु्हुन्छ । त्यसो हुन सकेमा भोलिका दिनमा यस्तै विपत्ति आइपर्दा क्षति कम हुन्छ। राज्यको लगानी पनि सुरक्षित रहन्छ र समग्रमा राज्य र नागरिक सबैलाई फाइदा हुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*