पुँजी बजारमा झिनो सुधारः लगानीकर्ताको मनोबल भने थप कमजोर, किन छ अझै डर ?

२० श्रावण २०८३, बुधबार १५:०५

काठमाडौँ । पछिल्ला केही सातादेखि नेपालको दोस्रो बजार निरन्तर दबाबमा देखिएको छ । नेप्से परिसूचक लगातार ओरालो लागिरहेको छ भने दैनिक कारोबार रकमसमेत खुम्चिँदै गएको छ । आज अन्तिममा सामान्य सुधार देखिएपनि लगानीकर्ताको मनोबल भने कमजोर नै देखिन्छ ।

बजारले स्पष्ट दिशा लिन नसक्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । छोटो अवधिमा बजार सुधार हुने संकेत नदेखिएपछि धेरै लगानीकर्ताले नयाँ लगानी गर्नेभन्दा पनि ‘पर्ख र हेर’को रणनीति अपनाएका छन् । बजारको अस्थिरताले विशेषगरी साना तथा नयाँ लगानीकर्तामा अन्योल बढाएको छ भने दीर्घकालीन लगानीकर्तासमेत सतर्क देखिएका छन् ।

सरकारले पूँजीबजार सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पटक–पटक व्यक्त गरे पनि त्यसको प्रभाव व्यवहारमा पर्याप्त रूपमा देखिन नसकेको भन्दै लगानीकर्ताहरूले असन्तुष्टि जनाइरहेका छन् । पूँजीबजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने सरकारी अभिव्यक्तिले केही समय सकारात्मक मनोविज्ञान सिर्जना गरे पनि त्यो प्रभाव दीर्घकालीन बन्न सकेन । सुधारसम्बन्धी नीतिगत घोषणा, नियामकीय व्यवस्था र कार्यान्वयनबीच देखिएको अन्तरका कारण बजारमा विश्वासको वातावरण अझै बलियो हुन नसकेको लगानीकर्ताहरूको धारणा छ । उनीहरूका अनुसार स्पष्ट कार्ययोजना र समयमै कार्यान्वयन नहुँदा बजारमा सकारात्मक संकेत टिकाउन कठिन भइरहेको छ ।

बजार विश्लेषकहरूका अनुसार हालको अवस्थाले तत्काल ठूलो सुधार आउने आधार बलियो देखिँदैन। आगामी केही कारोबार दिनमा पनि नेप्सेमा उतारचढाव कायम रहने, नाफा सुरक्षित गर्ने प्रवृत्ति तथा बिक्री दबाब जारी रहने सम्भावना रहेको उनीहरूको भनाइ छ। बैंकिङ प्रणालीमा लगानीयोग्य तरलताको अवस्था, ब्याजदरको दिशा, सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था, नीतिगत स्पष्टता तथा समग्र आर्थिक गतिविधिले बजारको आगामी यात्रामा महत्वपूर्ण प्रभाव पार्ने विश्लेषकहरूको निष्कर्ष छ। यिनै कारणले लगानीकर्ताहरू नयाँ जोखिम लिनुभन्दा बजारको दिशा स्पष्ट हुने प्रतीक्षामा रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७९ अकंले बढेर २६६७.९७ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको १ करोड ६७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ५ उपसूचकमा मात्रै सामान्य सुधार देखिएको छ । आज जलविद्युत समूहको १.४५ प्रतिशतले बढेको हो । अन्य ८ उपसूचक राताम्य भएका छन् ।

बुधबार १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*