नक्सा पास गरिदिने भन्दै २ लाख ८ हजार घुस, इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा

१६ आश्विन २०८३, शुक्रबार १७:३१

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले घर निर्माणको स्वीकृति तथा नक्सा पासलगायतका काम गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखसमेत रहेकी इन्जिनियर कार्कीले भवनको संरचनागत विश्लेषण (स्ट्रक्चरल एनालाइसिस) स्वीकृत गरिदिने भन्दै सेवाग्राहीलाई पटक–पटक दुःख दिई घुस मागेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

सेवाग्राहीको उजुरीका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले कार्की र घुस रकम लिन मध्यस्थकर्ताको भूमिका खेलेकी आस्मा कार्कीलाई ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा इन्जिनियर कार्कीले आस्मा कार्की र आशिष पौडेलसँग मिलेमतो गरी सेवाग्राहीबाट कुल २ लाख ८ हजार रुपैयाँ घुस लिन लगाएको खुलेको अख्तियारले जनाएको छ। घर निर्माणको सिफारिस, नक्सा पास, अस्थायी इजाजत तथा निर्माण सम्पन्न प्रमाणपत्रलगायतका काममा सहजीकरण गरिदिने सर्तमा उक्त रकम असुल गरिएको थियो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पदीय ओहदाको दुरुपयोग गरी बदनियतपूर्वक घुस लिने कार्यमा संलग्न इन्जिनियर र मतियारविरुद्ध मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

अख्तियारले इन्जिनियर कार्कीविरुद्ध २ लाख ८ हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम बिगो बराबरको जरिवाना र कैद सजाय मागदाबी गरेको छ।

गैरकानुनी लाभ लिन मुख्य कसुरदारलाई सहयोग गरेको आरोपमा आस्मा कार्की र आशिष पौडेललाई पनि प्रतिवादी बनाइएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्दै आएकी आस्माविरुद्ध मुख्य कसुरदारसरह २ लाख ८ हजार रुपैयाँ बिगो कायम गरी सजाय माग गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*