सुरक्षित लगानीको भरोसा बनेको म्युचुअल फण्डमै संकट, जोखिममा लगानीकर्ताको अर्बौं पुँजी

२४ श्रावण २०८३, आईतवार १२:४५

काठमाडौँ । सानो बचतलाई व्यवस्थित रूपमा परिचालन गर्दै शेयर बजारको जोखिमबाट तुलनात्मक रूपमा सुरक्षित प्रतिफल दिने आकर्षक माध्यमका रूपमा रहेको म्युचुअल फण्ड क्षेत्र अहिले आफैं अनिश्चितताको चपेटामा परेको छ । व्यवस्थापन, लगानीको विविधीकरण र दीर्घकालीन प्रतिफलको अपेक्षासहित हजारौँ लगानीकर्ताले विश्वास गरेको यो क्षेत्र पछिल्लो समय लगातार दबाबमा देखिएको हो ।

बजारमा सूचीकृत अधिकांश म्युचुअल फण्डको मूल्य अंकित मूल्यभन्दा तल झर्नु, अधिकांश फण्डको लाभांश वितरण क्षमता कमजोर हुनु र फण्डको खुद सम्पत्ति मूल्य (न्याभ) मा उतारचढावले लगानीकर्ताको लगानी डुब्दै गएको देखिएको छ । बैंकको मुद्दती निक्षेपजस्तै स्थिर र सुनिश्चित प्रतिफल पाइने अपेक्षामा म्युचुअल फण्डमा प्रवेश गरेका साना लगानीकर्ताले अहिले बजार जोखिमको वास्तविकता महसुस गर्न थालेका छन् ।

नेपालको पूँजी बजार विस्तार हुँदै जाँदा म्युचुअल फण्डमा सर्वसाधारणको आकर्षण पनि उल्लेख्य रूपमा बढेको थियो । बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित मर्चेण्ट बैंक तथा फण्ड व्यवस्थापक कम्पनीमार्फत सञ्चालन भएका यस्ता योजनाले थोरै रकमबाट समेत शेयर बजारमा अप्रत्यक्ष रूपमा प्रवेश गर्ने अवसर दिएका थिए । व्यक्तिगत रूपमा शेयर बजारको अध्ययन, कम्पनी छनोट र जोखिम व्यवस्थापन गर्न कठिन हुने साना लगानीकर्ताका लागि पेशागत फण्ड व्यवस्थापन आकर्षक विकल्प बनेको थियो । यही कारण प्रारम्भिक चरणमा म्युचुअल फण्डका योजनाप्रति सर्वसाधारणको आकर्षण उच्च देखिएको थियो । तर पछिल्लो समय बजारमा देखिएको सुस्तता, आर्थिक गतिविधिमा आएको दबाब, लगानीकर्ताको कमजोर मनोबल तथा वित्तीय क्षेत्रमा देखिएको उतारचढावले म्युचुअल फण्डको प्रदर्शनमा प्रत्यक्ष असर पारेको छ । बजारको गति कमजोर हुँदा फण्डले लगानी गरेका कम्पनीको शेयर मूल्यमा समेत दबाब पर्छ, जसको प्रभाव अन्ततः फण्डको कुल सम्पत्ति, न्याभ र आम्दानीमा देखिन्छ ।

म्युचुअल फण्डको अवधारणा आफैंमा भने गलत होइन । साना–साना लगानीकर्ताबाट संकलित रकमलाई एकीकृत गरी पेशागत फण्ड व्यवस्थापकले विभिन्न वित्तीय उपकरणमा लगानी गर्ने भएकाले व्यक्तिगत लगानीको तुलनामा जोखिम व्यवस्थापन गर्न सहज हुने मानिन्छ । शेयर, ऋणपत्र, सरकारी बण्ड, मुद्दती निक्षेप, आईपीओ तथा अन्य वित्तीय साधनमा लगानी विविधीकरण गरेर जोखिम घटाउने र दीर्घकालमा राम्रो प्रतिफल दिने यसको मूल उद्देश्य हो । तर लगानीको विविधीकरणले बजार जोखिम पूर्ण रूपमा हटाउँदैन । फण्डको ठूलो हिस्सा शेयर बजारमा लगानी गरिएको अवस्थामा बजार घट्दा त्यसको असर न्याभमा पर्नु स्वाभाविक हुन्छ । पछिल्लो समय नेपाली शेयर बजारले अपेक्षित गति लिन नसक्दा यही जोखिम म्युचुअल फण्डमा पनि देखिएको हो । बजारको मूल्यांकन घट्दा फण्डको सम्पत्तिको मूल्य घट्ने र त्यसले लगानीकर्ताको वास्तविक प्रतिफलमा दबाब सिर्जना गर्ने अवस्था बनेको छ ।

म्युचुअल फण्डको प्रतिफलमा अर्को महत्वपूर्ण पक्ष ब्याजदरसमेत हो । विगतमा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रकम राखेर तुलनात्मक रूपमा निश्चित आम्दानी गर्ने अवस्था थियो । तर ब्याजदर घट्दै गएपछि फण्ड व्यवस्थापकहरूले मुद्दती निक्षेपबाट लगानी घटाएर शेयर बजारलगायत अन्य पूँजीबजारका उपकरणमा लगानी बढाउनुपर्ने अवस्था आयो । न्यून ब्याजदरको वातावरणमा उच्च प्रतिफलको खोजी स्वाभाविक भए पनि बजारले अपेक्षित गति लिन नसक्दा त्यसको लाभ फण्डहरूले लिन सकेनन् । बरु शेयर बजार स्थिर वा कमजोर हुँदा लगानीको मूल्यांकनमा दबाब बढ्यो । म्युचुअल फण्डको ठूलो रकम शेयर बजारमा परिचालन हुने भएकाले बजारको प्रत्येक महत्वपूर्ण उतारचढावले फण्डको वित्तीय स्वास्थ्यमा प्रभाव पार्ने गरेको छ । बजारमा सुधार आउन नसक्दा फण्डको नाफा, न्याभ र वितरणयोग्य प्रतिफलमा समेत दबाब देखिएको हो ।

फण्डको नाफा कमजोर भएपछि त्यसको सबैभन्दा प्रत्यक्ष असर लगानीकर्ताले पाउने प्रतिफलमा पर्छ । म्युचुअल फण्डले आफूले कमाएको नाफा र उपलब्ध वितरणयोग्य रकमका आधारमा लाभांश वितरण गर्ने भएकाले बजारबाट पर्याप्त आम्दानी हुन नसक्दा विगतमा नियमित देखिएको लाभांश पनि प्रभावित बन्ने देखिएको हो ।

म्युचुअल फण्ड १ अर्ब रुपैयाँ घाटामा, २८ फण्डको नाफा ऋणात्मक

हाल सञ्चालनमा रहेका ५७ म्युचुअल फण्डमध्ये गत आर्थिक वर्ष २०८२।०८३ को असार महिनामा २८ फण्डको नाफा ऋणात्मक देखिएको छ । २८ फण्डको नाफा घनात्मक नै देखिएपनि अघिल्लो आर्थिक वर्ष असारको तुलनामा भने भारी गिरावट देखिएको छ ।

असारमा म्युचुअल फण्डको नाफा १ अर्ब १० करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको असारमा अवधिमा फण्डहरुको नाफा १ अर्ब १४ करोड ८२ लाख रुपैयाँ रहेको हो ।

यसअवधिमा सर्वाधिक नाफा कुमारी धनवृद्धि योजनाले १५ करोड ४५ लाख, प्रभु स्मार्ट फण्ड १४ करोड ९२ लाख, कुमारी इक्विटी फण्डले ११ करोड ५६ लाख, रिलायबल समृद्धि योजनाले १० करोड ५२ लाख, प्रभु सेलेक्ट फण्डले ९ करोड ८० लाख, हिमालयन ८०–२० ले ७ करोड ३४ लाख रुपैयाँ कमाएका छन् । नाफामा घनात्मक देखिएपनि अघिल्लो असारको तुलनामा भने कम्पनीहरुको नाफादरमा भारी गिरावट देखिएको हो ।

यसअवधिमा सबैभन्दा बढी घाटामा रहेको फण्डमा एचएलआई लार्ज क्याप फण्ड रहेको छ । असार महिनामा उक्त फण्डले ६३ करोड २७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

त्यस्तै, एनआईबिएल सहभागिता फण्ड ५२ करोड ८५ लाख, मेगा म्युचुअल फण्ड–१ ११ करोड ९१ लाख, नबिल फ्लेक्सी क्याप फन्ड ११ करोड ८ लाख र एनआईबिएल स्थिर फण्ड ९ करोड ३८ लाख रुपैयाँ घाटामा रहेको छ ।

न्याभ पनि निरन्तर घट्दै

गत आर्थिक वर्षको असार महिनामा सञ्चालनमा रहेका सबै म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको छ । अघिल्लो वर्षको असारको तुलनामा यस वर्षको असारमा सबै म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा कमी आएको हो ।

म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्यलाई सामान्यतया फण्डको एक इकाईको वास्तविक सम्पत्ति मूल्यका रूपमा बुझिन्छ । फण्डले लगानी गरेका शेयर, ऋणपत्र, बैंकमा रहेको मौज्दात तथा अन्य सम्पत्तिको कुल मूल्यबाट फण्डको दायित्व घटाएपछि बाँकी रकमलाई कुल इकाई संख्याले भाग गर्दा प्रतिइकाई खुद सम्पत्ति मूल्य प्राप्त हुन्छ ।

म्युचुअल फण्डले मुख्य रूपमा शेयर बजारमा लगानी गर्ने भएकाले सूचीकृत कम्पनीको शेयर मूल्यमा हुने उतारचढावले प्रतिइकाई खुद सम्पत्ति मूल्यमा प्रत्यक्ष प्रभाव पार्छ । असार महिनामा फण्डहरूले लगानी गरेका विभिन्न सूचीकृत कम्पनीका शेयरको बजार मूल्य घटेकाले फण्डको कुल सम्पत्तिको मूल्यमा कमी आएको देखिन्छ ।

२०८२ सालको असारको तुलनामा २०८३ सालको असारमा सबैभन्दा बढी प्रतिइकाई खुद सम्पत्ति मूल्य घट्नेमा प्रभु स्मार्ट फण्ड रहेको छ । यसको प्रतिइकाई खुद सम्पत्ति मूल्य १४ रुपैयाँ ७७ पैसाबाट घटेर १४ रुपैयाँ ३ पैसा कायम भएको छ । अर्थात् एक वर्षको अवधिमा प्रतिइकाई ७४ पैसा घटेको हो । तर, सोहि फण्डको न्याभ सबैभन्दा बढी पनि रहेको छ ।

त्यस्तै, प्रभु सेलेक्ट फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १३ रुपैयाँ ६२ पैसाबाट घटेर १३ रुपैयाँ ४ पैसा पुगेको छ । हिमालयन ८०–२० को प्रतिइकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ ६२ पैसाबाट घटेर १२ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

कुमारी धनवृद्धि योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ ७९ पैसाबाट घटेर १२ रुपैयाँ २६ पैसा पुगेको छ भने ग्लोबल आइएमई सन्तुलित फण्ड–१ र एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य समान रूपमा ११ रुपैयाँ ९७ पैसाबाट घटेर ११ रुपैयाँ ७८ पैसा पुगेको छ ।

एनएमबी सरल लगानी फण्ड दोस्रोको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ९३ पैसाबाट घटेर ११ रुपैयाँ ६६ पैसा, कुमारी सुनौलो लगानी योजनाको १२ रुपैयाँ ८ पैसाबाट घटेर ११ रुपैयाँ ६५ पैसा तथा कुमारी इक्विटी फण्डको ११ रुपैयाँ ९५ पैसाबाट घटेर ११ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

माछापुच्छ्रे नियमित लगानी योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ५८ पैसाबाट घटेर ११ रुपैयाँ २९ पैसा पुगेको छ । रिलायबल समृद्धि योजनाको ११ रुपैयाँ ३५ पैसाबाट घटेर ११ रुपैयाँ १६ पैसा तथा सिद्धार्थ लगानी वृद्धि योजना दोस्रो र सिद्धार्थ लगानी वृद्धि योजना तेस्रोको प्रतिइकाई खुद सम्पत्ति मूल्य समान रूपमा ११ रुपैयाँ २२ पैसाबाट घटेर १० रुपैयाँ ८५ पैसा पुगेको छ ।

फण्डको शेयरबजारमा पनि लगानी खुम्चियो

असार महिनामा अधिकांश म्युचुअल फण्डले शेयर बजारमा गरेको लगानी घटाएका छन् । बजारमा देखिएको निरन्तर उतारचढाव, आर्थिक वर्षको अन्त्यमा पोर्टफोलियो पुनःसन्तुलन गर्नुपर्ने अवस्था तथा नगद व्यवस्थापनको आवश्यकताका कारण म्युचुअल फण्डहरूले सूचीकृत कम्पनीको सेयरमा रहेको लगानी केही घटाएका हुन् ।

असारमा ५७ वटा म्युचुअल फण्डले शेयर बजारमा कुल ६६ अर्ब ७० करोड २७ लाख ५ हजार रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको असार महिनामा यस्ता फण्डहरूको शेयर बजारमा कुल लगानी ६८ अर्ब ५६ करोड ६९ लाख १९ हजार रहेको थियो। यस आधारमा एक महिनामै म्युचुअल फण्डहरूको शेयर लगानी १ अर्ब ८६ करोड ४२ लाख १४ हजार १ सय ३० रुपैयाँले घटेको छ । यो २.७२ प्रतिशतको गिरावट हो ।

असारमा ५७ मध्ये १४ वटा म्युचुअल फण्डको सेयर लगानी बढेको छ भने ४३ वटा फण्डको लगानी घटेको देखिन्छ ।

असारमा सेयर बजारमा सबैभन्दा धेरै लगानी गर्ने म्युचुअल फण्ड एनआइबिएल सहभागिता फण्ड रहेको छ । उक्त फण्डको बजारमा ८ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ लगानी रहेको छ। यद्यपि, अघिल्लो असारको तुलनामा यसको लगानी ०.०९ प्रतिशतले घटेको छ ।

त्यस्तै, एनएमबी सरल बचत फण्ड–ई को शेयर लगानी ४ अर्ब ३९ करोड ५८ लाख ९० हजार रुपैयाँ रहेको छ। यसको लगानी अघिल्लो असारको तुलनामा ०.५३ प्रतिशतले घटेको हो ।

सिद्धार्थ व्यवस्थित लगानी योजनाको सेयर बजारमा २ अर्ब ७९ करोड २० लाख ८ हजार रुपैयाँ लगानी रहेको छ भने एचएलआई ठूलो पुँजी फण्डको लगानी २ अर्ब ४६ करोड ८ लाख ७६ हजार ७ सय ८० रुपैयाँ रहेको छ।

एनएमबी ५० को सेयर लगानी अघिल्लो असारको तुलनामा सबैभन्दा धेरै घटेको देखिन्छ । यसको लगानी २८.६६ प्रतिशतले घटेर ७० करोड ४१ लाख ८९ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सिटिजन्स सदाबहार योजनाको लगानी २४.२२ प्रतिशतले घटेर ४८ करोड ७४ लाख ५३ हजार ९ सय ६० रुपैयाँमा झरेको छ । शुभलक्ष्मी कोषले सबैभन्दा धेरै प्रतिशतले लगानी बढाएको छ। यसको सेयर लगानी १६.७४ प्रतिशतले बढेर ६७ करोड ६२ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*