आर्थिक सुधारका लागि चालु आवमै २७ नयाँ कानुन ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारलाई गति दिन सरकारले चालु आर्थिक वर्षमै २७ वटा नयाँ कानुन निर्माण गरी कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बताएका छन्।
शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारीसम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आफूले जिम्मेवारी सम्हालेपछि पुराना कानुन खारेजदेखि नयाँ कानुन निर्माणसम्मको प्रक्रिया अघि बढाएको जानकारी दिए।
वाग्लेले बजेट सुधारलाई सहयोग पुग्ने तथा समग्र आर्थिक सुधारलाई अघि बढाउने उद्देश्यले २७ वटा नयाँ कानुन ल्याउने तयारी भइरहेको बताए। त्यसका लागि सम्बन्धित मन्त्रालयहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको उनको भनाइ थियो।
‘म अर्थमन्त्री भएको आधा घण्टाभित्र १५ वटा पुराना ऐन खारेज गरेँ। बजेटमा २७ वटा नयाँ कानुन यही वर्ष हामी लिएर आउँछौं,’ उनले भने, ‘बजेट सुधारलाई सहायक हुने र आर्थिक सुधारका लागि २७ वटा कानुनका लागि अहिले मन्त्रालयहरूलाई लखेटिराखेको छु।’
निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको कानुन संशोधनको विषयलाई समेत सरकारले प्राथमिकताका साथ अघि बढाएको वाग्लेले बताए। नेपाल उद्योग परिसंघ (सीएनआई) ले २८ वटा कानुन संशोधनको माग गरेको र उद्योग वाणिज्य क्षेत्रबाट यसअघि ४२ वटा कानुन संशोधनको विषय उठाइएको उनले उल्लेख गरे।
कानुन संशोधनको दायरा थप फराकिलो बनाउँदै कानुन मन्त्रालयले १६६ वटा कानुनमा संशोधनको प्रक्रिया अघि बढाएको पनि उनले जानकारी दिए। तीमध्ये ५४ वटा कानुन मन्त्रिपरिषद्बाट पारित भइसकेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले आर्थिक सुधारसँगै सुशासनको मर्म राज्यका सबै अंगमा विस्तार गर्नुपर्नेमा जोड दिए। सरकारका केही मन्त्रीको व्यवहार मात्र सुधारिँदैमा समग्र राज्यको चरित्र परिवर्तन नहुने भन्दै उनले राज्यका अन्य निकायमा समेत सुशासनको अभ्यास विस्तार गर्नुपर्ने बताए।
‘राज्यका अन्य अंगहरू पनि सुशासनको यही मर्म बिजारोपण गर्दै फैलाउँदै लैजानुपर्नेछ। नत्र १७ जना मन्त्रीको व्यवहारले मात्र सिंगो राज्यको चरित्र बन्दैन,’ उनले भने, ‘तर मूल सफा भयो भने अरू कुरा पनि सलिन समय लाग्दैन।’
आर्थिक सुधार कार्यान्वयनका क्रममा विभिन्न चुनौती रहेको स्वीकार गर्दै वाग्लेले नीति र संस्था कब्जा गरेर राज्यको दोहन गर्ने प्रवृत्तिलाई अन्त्य गर्न समय लागिरहेको बताए।
‘चुनौतीहरू पनि धेरै छन्। नीति र संस्था कब्जा गरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको यो कुप्रवृत्तिलाई हल्लाउन र उखेल्न समय लागिरहेको छ,’ उनले भने।











