माइक्रोफाइनान्सको वित्तीय विवरणमा चमक: ५० लघुवित्तको नाफा १२ अर्ब, खराब कर्जा कति ? (तथ्याङ्कसहित)

३ भाद्र २०८३, बुधबार १३:४९

काठमाडौं । आर्थिक मन्दी, कारोबारमा आएको सुस्ती तथा विभिन्न आन्दोलनको प्रभावका बीच दबाबमा परेको लघुवित्त क्षेत्र क्रमशः सुधार र स्थिरतातर्फ उन्मुख भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको कर्जा पुनर्संरचनाको सुविधापछि ऋणीहरूलाई किस्ता भुक्तानी सहज हुनु, खराब कर्जाको दबाब कम हुँदै जानु तथा वित्तीय गतिविधिमा सुधार आउनुका कारण लघुवित्त वित्तीय संस्थाहरूको नाफामा उल्लेख्य उछाल देखिएको हो ।

नेपाल राष्ट्र बैंकको कर्जा पुनर्संरचना सुविधाले आर्थिक दबाबमा परेका ऋणीहरूलाई तत्काल राहत दिनुका साथै लघुवित्त संस्थाहरूको खराब कर्जा व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ । ऋणीले किस्ता भुक्तानीका लागि थप समय पाउँदा निष्क्रिय कर्जाको दबाब घटेको र त्यसको प्रत्यक्ष प्रभाव संस्थाहरूको नाफामा परेको हो। सार्वजनिक वित्तीय विवरणहरूले पनि अधिकांश लघुवित्त संस्थाको खराब कर्जा अनुपात अघिल्लो वर्षको तुलनामा घटेको देखाएका छन् ।

नेप्सेमा सूचीकृत ५० वटै लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा समग्र लघुवित्त क्षेत्रको खुद नाफा १५३.११ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा ५० लघुवित्तको कुल खुद नाफा ४ अर्ब ७५ करोड ६ लाख ७३ हजार रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर १२ अर्ब २ करोड ४३ लाख ९ हजार रुपैयाँ पुगेको छ। अर्थात् एक वर्षमै लघुवित्त क्षेत्रको खुद नाफामा ७ अर्ब २७ करोड ३६ लाख ३६ हजार रुपैयाँको वृद्धि भएको छ ।

नाफामा सबैभन्दा अगाडि छिमेक लघुवित्त रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब २९ करोड ८० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीको खुद नाफा १ अर्ब २१ करोड २८ लाख ७४ हजार रुपैयाँ थियो। यससँगै छिमेकको नाफा ७.०२ प्रतिशतले बढेको छ। कम्पनीको खराब कर्जा अनुपातसमेत अघिल्लो वर्षको २.५५ प्रतिशतबाट घटेर २.३० प्रतिशतमा झरेको छ।

नाफाको आधारमा दोस्रो स्थानमा जीवन विकास लघुवित्त रहेको छ। कम्पनीले १ अर्ब ८ करोड २२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ७० करोड ६४ लाख २९ हजार रुपैयाँको तुलनामा ५३.२० प्रतिशत बढी हो। जीवन विकासको खराब कर्जा अनुपात पनि ६.६५ प्रतिशतबाट घटेर ५.३३ प्रतिशतमा आएको छ।

तेस्रो स्थानमा रहेको डिप्रोक्स लघुवित्तले ९८ करोड ९४ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ५७ करोड ६८ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा ७१.५२ प्रतिशतले बढेको हो। कम्पनीको खराब कर्जा अनुपात ११.३० प्रतिशतबाट घटेर ६.४९ प्रतिशतमा आएको छ। नेशनल लघुवित्तले ८९ करोड १३ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाउँदै चौथो स्थान हासिल गरेको छ। अघिल्लो वर्षको ५७ करोड ९५ लाख ४८ हजार रुपैयाँ नाफाको तुलनामा यसको नाफा ५३.७९ प्रतिशतले बढेको छ भने खराब कर्जा अनुपात ५.४५ प्रतिशतबाट ४.१६ प्रतिशतमा झरेको छ।

साना किसान विकास लघुवित्तले ६५ करोड ३१ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ। यद्यपि अघिल्लो वर्षको ८७ करोड ५० लाख ५ हजार रुपैयाँको तुलनामा कम्पनीको नाफा २५.३६ प्रतिशतले घटेको छ। साना किसानको खराब कर्जा अनुपात भने २.६५ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेको छ।

फर्वार्ड माइक्रोफाइनान्सले ६२ करोड ३५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ३६ करोड ४६ लाख ४४ हजार रुपैयाँ घाटामा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो। यसको खराब कर्जा अनुपात १९.८६ प्रतिशतबाट घटेर १६.१७ प्रतिशतमा आएको छ। स्वावलम्बन लघुवित्तले ६१ करोड ९७ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ४१ करोड १५ लाख ३० हजार रुपैयाँभन्दा ५०.६० प्रतिशत बढी हो। कम्पनीको खराब कर्जा अनुपात ९.४९ प्रतिशतबाट ८.९२ प्रतिशतमा झरेको छ।

ग्लोबल आईएमई लघुवित्तको नाफामा भने असाधारण वृद्धि देखिएको छ। कम्पनीले ४० करोड ११ लाख ५ हजार रुपैयाँ नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष नाफा ७ करोड ४९ लाख २६ हजार रुपैयाँ मात्र थियो। यससँगै नाफा ४३५.३३ प्रतिशतले बढेको छ। कम्पनीको खराब कर्जा अनुपात पनि १०.१६ प्रतिशतबाट घटेर ८.७० प्रतिशतमा आएको छ।

निर्धन उत्थान लघुवित्तले ३५ करोड ९ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ। तर अघिल्लो वर्षको १ अर्ब २ लाख ६ हजार रुपैयाँको तुलनामा यसको नाफा ६४.९९ प्रतिशतले घटेको छ। कम्पनीको खराब कर्जा भने ९.९१ प्रतिशतबाट बढेर १२.८० प्रतिशत पुगेको छ। स्वरोजगार लघुवित्तले ३१ करोड १७ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको २२ करोड ६ लाख २० हजार रुपैयाँको तुलनामा नाफा ४१.२९ प्रतिशतले बढेको छ भने खराब कर्जा अनुपात ७.५९ प्रतिशतबाट घटेर ६.६५ प्रतिशतमा आएको छ।

सीवाईसी नेपाल लघुवित्तले २९ करोड ४८ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनी ९ करोड ६ लाख ७ हजार रुपैयाँ घाटामा थियो। मातृभूमि लघुवित्तले २८ करोड ३५ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष ५२ करोड ३२ लाख ९३ हजार रुपैयाँ घाटामा थियो। मातृभूमिको खराब कर्जा अनुपात ३३.७६ प्रतिशतबाट घटेर २६.६१ प्रतिशतमा आएको छ।

ग्रामीण विकास लघुवित्तले २६ करोड ६७ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको ७ करोड ९ लाख ६८ हजार रुपैयाँ नाफाको तुलनामा कम्पनीको नाफा २७५.८२ प्रतिशतले बढेको छ। खराब कर्जा अनुपात भने ९.९६ प्रतिशतबाट घटेर ६.७२ प्रतिशतमा आएको छ। आशा लघुवित्तले २६ करोड १९ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको १० करोड २६ लाख ३४ हजार रुपैयाँभन्दा १५५.२२ प्रतिशत बढी नाफा कमाएको कम्पनीको खराब कर्जा अनुपात ६.४९ प्रतिशतबाट बढेर ८.५७ प्रतिशत पुगेको छ।

सृजनशील लघुवित्तले ३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको ४ करोड ५० लाख ८५ हजार रुपैयाँको तुलनामा नाफा २५.२५ प्रतिशतले घटेको छ। यसको खराब कर्जा अनुपात ९.७९ प्रतिशतबाट बढेर ११.४८ प्रतिशत पुगेको छ। मानुषी लघुवित्तले २ करोड ६९ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ३ करोड ५० लाख ७५ हजार रुपैयाँ घाटामा रहेको कम्पनी नाफामा फर्किएको हो। खराब कर्जा अनुपात ११.३७ प्रतिशतबाट घटेर ८.६० प्रतिशतमा आएको छ।

धौलागिरि लघुवित्तले २ करोड ९ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष २ करोड ९९ लाख ९६ हजार रुपैयाँ घाटामा रहेको कम्पनी नाफामा फर्किएको हो। यसको खराब कर्जा अनुपात २२.४४ प्रतिशतबाट घटेर २०.५२ प्रतिशतमा आएको छ। जनउत्थान सामुदायिक लघुवित्तले १ करोड ८२ लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष १३ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो। यद्यपि खराब कर्जा अनुपात ९.३५ प्रतिशतबाट बढेर १७.१४ प्रतिशत पुगेको छ।

स्वस्तिक लघुवित्तले १ करोड २१ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ८९ लाख ५४ हजार रुपैयाँ घाटामा रहेको कम्पनी नाफामा फर्किएको हो। कम्पनीको खराब कर्जा अनुपात १७.२५ प्रतिशतबाट बढेर २३.५० प्रतिशत पुगेको छ। सबैभन्दा कम नाफा कमाउनेमध्ये विन नेपाल लघुवित्तले ८३ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा ७७४.४२ प्रतिशतले बढेको छ। तर कम्पनीको खराब कर्जा अनुपात १०.६९ प्रतिशतबाट बढेर १६.१२ प्रतिशत पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*