लोकसेवा छोडेर बीमाको बाटो रोजेका सन्तोष क्षेत्री, जसले बनाए सयौं अभिकर्ताको करियर

२९ श्रावण २०८३, शुक्रबार १२:००

गुल्मीको इस्मा गाउँपालिका–१ हस्तिचौरमा जन्मिएका सन्तोष कुँवर क्षेत्री सानैदेखि पढाइमा अब्बल थिए । विद्यालय तहमा प्रायः प्रथम हुने उनीप्रति परिवारको अपेक्षा पनि ठूलो थियो । त्यसैले परिवारले उनलाई लोकसेवा पढेर सरकारी जागिर खान सुझाव दिएको थियो । उनले पनि त्यही बाटो रोज्दै लोकसेवाको तयारी थाले । तर जीवनले उनलाई अर्कै यात्रातर्फ डोर्यायो ।

प्लसटू उत्तीर्ण गरेपछि उनले तत्कालिन जिल्ला विकास समिति मार्फत संचालन भएको गरिबी निवारण कोष कार्यक्रममा तीन वर्ष काम गरे । गरिबी निवारण कोषसँगै आर्थिक तथा शैक्षिक क्षेत्रमा काम गर्ने क्रममा उनले समाज र मानिससँग नजिक भएर काम गर्ने अवसर पाए । यही अनुभवले समाजमा उनको राम्रो चिनजान र छवि पनि बनाउँदै लग्यो ।

फाइनान्स विषय अध्ययन गरेका क्षेत्रीलाई बीमाबारे सामान्य जानकारी पहिल्यै थियो । तर बीमालाई करियर बनाउने सोच भने बनिसकेको थिएन । त्यही समयमा गाउँकै एक व्यक्तिको गाडी दुर्घटनामा मृत्यु भयो । बीमा नगरेका कारण उनको परिवारले आर्थिक संकट व्यहोर्नुपरेको घटना क्षेत्रीले नजिकबाट देखे । त्यसपछि भने उनलाई बीमाको वास्तविक महत्वबारे सोच्न बाध्य बनायो ।

“त्यो घटनाले मलाई बीमा भनेको अप्ठ्यारो अवस्थामा परिवारलाई आर्थिक रूपमा जोगाउने माध्यम रहेछ भन्ने महसुस गरायो ।” उनी सम्झन्छन् । यही सोचसँगै उनी वि।सं। २०७४ साल फागुनमा तत्कालीन युनियन लाइफको तम्घास शाखा प्रबन्धकका रूपमा बीमा क्षेत्रमा प्रवेश गरे । लोकसेवाको तयारी गरिरहेका क्षेत्रीका लागि यो नयाँ र चुनौतीपूर्ण यात्रा थियो ।

त्यतिबेला नेपालमा बीमाप्रति आम मानिसको धारणा अहिलेको जस्तो सकारात्मक थिएन, त्यसैले सरकारले भर्खरै ९ वटा नयाँ कम्पनी संचालनको अनुमति पनि दिएको थियो । बीमा कम्पनी र नेटवर्क मार्केटिङ्ग कम्पनी एउटै हो भनेर बीमा कम्पनी माथि नै शंका गर्ने, बीमामा पैसा डुब्छ भन्ने सोच राख्ने र बीमालाई अनावश्यक खर्चका रूपमा हेर्नेहरू धेरै थिए । त्यसमाथि नयाँ कम्पनीले स्थापित कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था थियो । “कम्पनीहरु ठूलो शहरबाट सानो शहर तिर शाखाहरु विस्तार गर्दै थिए, त्यो बेला जीवन बीमा बुझाउन निकै गाह्रो थियो। धैरै जनालाई जीवन बीमा र अभिकर्ताको करियरको विषयमा बुझाउँदा एकदमै कम मान्छेहरुले मात्रै जीवन बीमा रोज्ने अवस्था थियो ।” उनी सुरुवाती दिन सम्झँदै भन्छन् ।

त्यसमाथि परिवारबाट पनि उनलाई बीमा क्षेत्रमा नलाग्न दबाब थियो । बीमितको पैसा डुबेमा त्यसको जिम्मेवारी आफूले लिनुपर्ने भन्दै परिवारले उनलाई पुनः सरकारी तथा अन्य जागिरको तयारीमा फर्किन सुझाव दिएको थियो । तर क्षेत्रीले आफूले रोजेको बाटोबाट पछि हटेनन् । “मैले आफैं यो पेशा रोजेको थिएँ । त्यसैले जति नै अप्ठ्यारो आए पनि हार मान्ने कुरा आएन । बरु आफूलाई मोटिभेट गर्दै अगाडि बढिरहेँ ।” उनी भन्छन् ।

त्यतिबेला बीमाको पहुँच न्यून थियो ।पहिले पहिले प्रायः शिक्षक, बैंकका कर्मचारी तथा सरकारी कर्मचारी लगायत सिमित व्यक्तिहरुले अभिकर्ताको काम गर्ने प्रचलन थियो । तर उनीहरूको सरुवा भएपछि वा व्यवसायिक अभिकर्ता नभएका कारण बीमितले नियमित प्रिमियम तिर्न नसक्ने वा बिर्सने हुँदा एक–दुई किस्तापछि नै बीमा बन्द हुने अवस्था रहेछ, आफूले बीमामा राखेको पैसा कसरी निन्तर गर्ने वा कसरी बन्द गरेर निकाल्ने यसको जानकारी नपाएर पनि धेरै व्यक्तिहरुले बीमा प्रति नकारात्मक भएको अवस्था आएको रहेछ । यस्तो चुनौतीपूर्ण समयमा उनको मुख्य जिम्मेवारी नयाँ अभिकर्ता निर्माण गर्ने, बजार रणनीति बनाउने र अभिकर्तालाई प्रेरित गर्दै व्यवसाय भित्र्याउने थियो । फागुनमा बीमा क्षेत्रमा प्रवेश गरेका क्षेत्रीले असारमै कम्पनीले दिएको वार्षिक लक्ष्य पूरा गरे । सुरुवातमै लक्ष्य पूरा गरेर उनी पोखरामा भएको शाखा प्रवन्धक सम्मेलनमा सम्मानितसमेत भए ।

त्यसपछि उनको यात्रा झन् तीव्र बन्दै गयो । यसै क्रममा उनले रोजगारीको खोजीमा विदेश जान खोजिरहेका सन्तोष बस्नेतलाई सम्झाएर बीमा अभिकर्ता बनाए । आज बस्नेत लगातार ९ वर्ष सम्म एजेन्सी म्यानेजरको भुमिकामा व्यवसायिक एवं सफल अभिकर्ताका रूपमा यही क्षेत्रमा काम गरिरहेका छन् । क्षेत्रीका लागि यो केवल एक अभिकर्ता बनाएको घटना थिएन आफूले कसैको करियर निर्माणमा भूमिका खेल्न सकेको एउटा महत्वपूर्ण सुरुवाती उपलब्धि थियो ।

७वर्ष शाखा प्रबन्धकको जिम्मेवारीमा रहँदा क्षेत्रीले धेरै अभिकर्ता निर्माण गरे । अभिकर्तालाई केवल लक्ष्य पूरा गर्ने माध्यमका रूपमा नभई बीमाको वास्तविक महत्व बुझाउन सक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्ने उनको बुझाइ थियो । “पहिले अभिकर्ताले बीमा बुझ्नुपर्छ त्यसपछि मात्रै अरूलाई बीमा बुझाएर पोलिसी बिक्री गर्न सकिन्छ ।” उनी भन्छन् । बीमा क्षेत्रमा काम गर्दै जाँदा उनले चुनौती मात्रै पाएनन्, नयाँ अवसर पनि पाए । यही पेशाका कारण उनले इजिप्ट र दुबई घुम्ने अवसर पाए, ती उपलब्धिले उनलाई थप ऊर्जा र प्रेरणा दियो ।

समयसँगै क्षेत्रीको जिम्मेवारी पनि बढ्दै गयो । अहिले उनी सन नेपाल लाइफको लुम्बिनी रिजनल म्यानेजरका रूपमा लुम्बिनी प्रदेशका नौ वटा शाखाको नेतृत्व गरिरहेका छन् । उनको जिम्मेवारी बजार, समय र परिस्थितिको विश्लेषण गरी योजना बनाउने, आफ्नो टिमलाई व्यवस्थापन गर्ने र कम्पनीमा नैतिक व्यवसायिक अभ्यास कायम राख्दै व्यवसाय विस्तार गर्नेमा केन्द्रित छ ।

क्षेत्रीका लागि जीवन बीमा केवल भविष्यको बचत होइन जोखिमसँग जुध्ने वित्तीय औजार हो । उनको नजरमा मानिस हरेक दिन कुनै न कुनै जोखिममा बाँचिरहेको हुन्छ । सडक दुर्घटनादेखि रोग तथा घातक स्वास्थ्य समस्यासम्मले परिवारको आर्थिक अवस्था क्षणभरमै बदल्न सक्छ । “हामी सधैं उच्च जोखिममा बाँचिरहेका छौं । हरेक दिन सडक दुर्घटनामा नागरिकले ज्यान गुमाइरहेका छन्, अस्पतालमा रोगका कारण मानिसको करोडौँ पैसा खर्च भईरहेको छ, मृत्यु भइरहेको छ । यस्तो अवस्थामा कमाउने व्यक्तिलाई केही भयो भने उसको परिवारको अवस्था के हुन्छ भन्ने सोच्नुपर्छ ।” उनी भन्छन् ।

उनका अनुसार नेपालमा धेरै परिवारको आर्थिक जिम्मेवारी एक जना कमाउने व्यक्तिमाथि निर्भर छ । त्यस्तो व्यक्तिको मृत्यु वा गम्भीर रोगका कारण आम्दानी रोकिँदा परिवार आर्थिक संकटमा पर्न सक्छ । त्यसैले जीवन बीमालाई भविष्यमा आइपर्न सक्ने यस्ता जोखिमसँग जुध्ने माध्यमका रूपमा लिनुपर्ने उनको बुझाइ छ ।

“बचत नहुँदा र कमाउने व्यक्तिलाई केही भइदिँदा परिवार बेसहारा बन्न सक्छ । यही जोखिमसँग जुध्ने वित्तीय औजार जीवन बीमा हो ।” उनी भन्छन् । बीमाबारे पुरानो बुझाइमा पनि सकारात्मक परिवर्तन आएको क्षेत्री बताउँछन् । विगतमा जीवन बीमा गरेपछि मृत्यु भएपछि मात्रै पैसा पाइन्छ भन्ने बुझाइ रहे पनि अहिले बीमा योजनामा विभिन्न परिवर्तन आएको उनको भनाइ छ । रोग, दुर्घटना तथा अन्य जोखिमका अवस्थामा समेत आर्थिक सहयोग प्राप्त हुने भएकाले बीमालाई समयअनुसार बुझ्नुपर्ने उनी बताउँछन् ।

अब उनको ध्यान आफू नेतृत्व गरिरहेको टिम र संस्था अझ सक्षम बनाउनेतर्फ छ । अभिकर्ताको क्षमता विकास गर्दै नागरिकलाई बीमाको महत्व बुझाउने र लुम्बिनी प्रदेशमा सन नेपाल लाईफको जीवन बीमाको बजार विस्तार गर्ने उनको आगामी लक्ष्य रहेको उनी बताउँछन् । “मेरो आगामी लक्ष्य सन नेपाल लाइफलाई अझ सक्षम र नेपालमा सबैले मन पराउने कम्पनीको रुपमा स्थापित गर्नु र यसको लागि कार्यरत कम्पनीलाई सहयोग गर्नु हो । अभिकर्ताको क्षमता बढाएर नागरिकलाई बीमा बुझाउने, व्यवसायमा नैतिक अभ्यास कायम राख्दै अघि बढ्ने र बीमा बजार विस्तार गर्ने मेरो प्राथमिकता हो ।” उनी भन्छन् ।

उनले भने सन नेपाल लाईफले नेपाल मै पहिलो पटक सन लाईफ मेडिकेयर जस्तो व्यवहारिक र उत्कृष्ट सुविधा ल्याएको छ, अव पनि बजारको मागअनुसार नयाँ बीमा पोलिसी ल्याएर बीमितको आवश्यकता र माग सम्बोधन गर्नुपर्नेमा उनको जोड छ । उनका लागि कम्पनीको विकाससँगै, जीवन बीमा गराईसकेपछि बीमितलाई कम्पनीले दिने सेवा उच्च आदर्श कायम गरेर दिइनु अत्यन्तै महत्वपूर्ण छ । बीमा कम्पनीहरुले नयाँ टेक्नोलोजीलाई अवलम्वन गर्दै, डिजिटल पोलिसी बिक्रीलाई पनि अघि बढाउँदै जान सके बीमाको पहँुचमा विस्तार हुन्छ । बीमा क्षेत्रमा आउन चाहने नयाँ पुस्ताका लागि पनि क्षेत्रीको सन्देश स्पष्ट छ, नेपालमै बसेर जागिरमा करियर खोज्नेहरुका लागि यो अत्यन्तै राम्रो प्लेटफर्म हो, साथै अभिकर्ता कम्पनीको मेरुदण्ड र मुखपत्र हो । त्यसैले केवल आम्दानीका लागि नभई बीमाको ज्ञान, तालिम र सेवाभावसहित यो क्षेत्रमा प्रवेश गर्नुपर्छ ।

“कम्पनीले संचालन गरेको तालिम लिएपछि प्राधिकरणले तोकेको परीक्षा पास गरेर स्वरोजगार बन्न सकिने, बिना कुनै लगानी आम्दानी गर्न सकिने र सामाजिक सेवासँग जोडिएको पेशा अभिकर्ताको पेशा हो ।” उनी भन्छन् । प्लस टु पास गरेर विदेश जाने तयारीमा रहेका युवालाई समेत उनी स्वदेशमै बीमा क्षेत्रमा सम्भावना खोज्न सुझाव दिन्छन् । पार्टटाइमका रूपमा मात्र नभई यसलाई पूर्णकालीन करियरका रूपमा अघि बढाउन चाहने युवाले आवश्यक ज्ञान र तालिम लिएर प्रवेश गरे राम्रो भविष्य बनाउन सक्ने उनको विश्वास छ ।

लोकसेवाको तयारीबाट सुरु भएको उनको यात्रा अहिले बीमा क्षेत्रको प्रादेशिक नेतृत्वसम्म आइपुगेको छ र यसै वर्ष उनी आफ्नो कम्पनीमा टप रिजनल म्यानेजरको अवार्ड प्राप्त गरी सम्मानित पनि भएका छन् । कुनै समय परिवारले सरकारी जागिरतर्फ जान सुझाएका क्षेत्री आज सयौं अभिकर्ताको करियर निर्माण गर्दै लुम्बिनी प्रदेशका नौ शाखाको नेतृत्व गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*