जीवन विकास लघुवित्तको नाफा १ अर्ब नाघ्यो, लाभांश क्षमता कति ?

२९ श्रावण २०८३, शुक्रबार १५:४९

काठमाडौँ ।  मर्जरको प्रक्रियामा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५३.२० प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाको खुद नाफा ७० करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको ब्याज तथा कमिसन आम्दानीमा भएको वृद्धिले नाफा बढाउन मुख्य योगदान गरेको देखिन्छ । गत आवमा ब्याज आम्दानी ११.८६ प्रतिशतले बढेर २ अर्ब ३५ करोड ८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कमिसन आम्दानी १२.३२ प्रतिशतले वृद्धि भई ३० करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेसँगै संस्थाको प्रतिसेयर आम्दानी पनि सुधारिएको छ । अघिल्लो आवमा ४५.९९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत आवमा बढेर ६१.८० रुपैयाँ पुगेको हो ।

संस्थाको खराब कर्जा अनुपातमा समेत सुधार आएको छ । अघिल्लो आवमा ६.६५ प्रतिशत रहेको एनपीएल गत आवमा घटेर ५.३३ प्रतिशतमा सीमित भएको छ । संस्थाको सीडी रेसियो १२५.१० प्रतिशत, बेस रेट ११.१६ प्रतिशत, स्प्रेड दर ७.१९ प्रतिशत र कस्ट अफ फण्ड ६.७१ प्रतिशत रहेको छ । तरलता अनुपात भने ८.७४ प्रतिशत रहेको छ ।

गत आवको अन्त्यसम्म संस्थाको प्रतिसेयर नेटवर्थ २७९.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२३ गुणा रहेको छ ।

१ अर्ब ७५ करोड रुपैयाँ चुक्तापुँजी रहेको संस्थाको रिटेन्ड अर्निङ १ अर्ब ४० करोड १६ लाख रुपैयाँ पुगेको छ । यस्तै, संस्थाको जगेडा कोषमा १ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

संस्थाले गत आवको वित्तीय विवरणअनुसार १ अर्ब ४० करोड १६ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । यस आधारमा संस्थाको लाभांश क्षमता ८०.०४ प्रतिशत रहेको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*