घाटामा रहेका जलविद्युत कम्पनीहरुको मुनाफामा देखियो उछाल, कुनको अवस्था कस्तो ? (तथ्याङ्क सहित)

काठमाडौं । घाटामा रहेका जलविद्युत कम्पनीहरुमा गत बर्ष उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो बर्षको तुलनामा जलविद्युत कम्पनीहरुको मुनाफा १७१७ प्रतिशतले वृद्धि भएर ११ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको सोहि अवधिमा जलविद्युत कम्पनीहरुको मुनाफा मा ६४ करोड ४० लाख रुपैयाँ मात्रै रहेको थियो ।
यी कम्पनीहरुको कुल खुद नाफा अघिल्लो आर्थिक वर्षमा ६४ करोड ४० लाखमा सीमित रहेकामा गत आर्थिक वर्षमा १७१७ प्रतिशतले बढेर ११ अर्ब ७० करोड २२ लाख रुपैयाँ पुगेको छ ।
निरन्तर घटिरहेको र लगानीकर्ताहरुको मनोबल खस्किरहेको हाइड्रोपावरको भने यस बर्ष उत्साहजनक वृद्धि भएको हो ।
जलविद्युत कम्पनीको नाफा वृद्धिमा माथिल्लो तामाकोशीजस्ता राष्ट्रिय गौरवका ठूला आयोजनाहरूको भूमिका मुख्य देखिन्छ । अघिल्लो आवमा ३ अर्ब ६८ करोड १ लाखभन्दा बढी घाटामा रहेको माथिल्लो तामाकोशीले गत आवमा ९२ करोड ५९ लाख खुद नाफा गर्दै ४ अर्ब ६० करोड ६० लाखको खुद सुधार भएको छ ।
गत आर्थिक वर्षमा सर्वाधिक खुद नाफा कमाउने कम्पनीहरूमा साहस ऊर्जा अग्रस्थानमा रहेको छ, जसले १ अर्ब ३५ करोड ९१ लाख खुद नाफा कमाएको छ । अघिल्लो वर्ष साहस उर्जाको नाफा ८९ करोड रुपैयाँ रहेकोमा गत वर्ष ५२ प्रतिशतले नाफा बढेको हो । त्यसैगरी नयाँ सूचीकृत सोलु हाइड्रोपावरले १ अर्ब ११ करोड ३८ लाख नाफा कमाउँदै बलियो उपस्थिति जनाएको छ भने अपि पावर कम्पनीले ९६ करोड ६ लाख नाफा कमाएको छ।
कुल सूचीकृत कम्पनीहरूमध्ये ४६ वटा कम्पनीहरूले दुवै वर्ष नाफामा रहेर गत आवमा नाफा अझ बढाएका छन् भने सोलु हाइड्रोपावर नयाँ आयोजनाका रूपमा प्रवेश गर्दै शीर्ष नाफा कमाउने दोस्रो कम्पनी बन्न सफल भएको छ ।












