दुई महिनामै ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपालमा चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै वस्तु आयात ४ खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागले सार्वजनिक गरेको साउन र भदौको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ३ खर्ब ५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो। चालू आर्थिक वर्षको सोही अवधिमा आयात ९५ अर्ब रुपैयाँले बढेर ४ खर्ब रुपैयाँ पुगेको विभागको तथ्यांकले देखाएको छ।
यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो दुई महिनाको तुलनामा कुल वैदेशिक व्यापार ३५ प्रतिशतले बढेको हो।
नेपालको आयात प्रत्येक महिना बढिरहेको भए पनि निर्याततर्फ भने उत्साहजनक सुधार देखिएको छ। आयातको तुलनामा निर्यातको हिस्सा निकै न्यून रहे पनि गत वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा निर्यात ६१ प्रतिशतले बढेको छ।
साउन र भदौमा नेपालबाट ७६ अर्ब रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा निर्यात ४७ अर्ब रुपैयाँ बराबर रहेको थियो। यस आधारमा दुई महिनामै निर्यात करिब २९ अर्ब रुपैयाँले बढेको देखिन्छ।










