चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिन यातायात महासंघको निर्देशन

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिन व्यवसायीलाई निर्देशन दिएको छ।
महासंघले चाडपर्वका समयमा सार्वजनिक यातायातलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन तथा अनलाइन माध्यमबाट टिकट बिक्रीलाई प्राथमिकता दिन आग्रह गरेको हो।
महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र यात्रुवाहक सवारी सञ्चालन गर्नुपर्ने उल्लेख छ। उपत्यकाबाट बाहिरिने तथा उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमनका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि तथा सम्बन्धित उपभोक्ता संस्थासँग समन्वय गर्न पनि आग्रह गरिएको छ।
टिकट बिक्रीमा संलग्न कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने र अनधिकृत काउन्टरबाट टिकट बिक्री हुने कार्य नियन्त्रण गर्न महासंघले निर्देशन दिएको छ। परिचयपत्र तथा तोकिएको पोसाक नलगाएका व्यक्तिबाट टिकट बिक्री गर्न नदिन पनि व्यवसायीलाई आग्रह गरिएको छ। यात्रुले समेत आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट टिकट लिएर मात्र यात्रा गर्नुपर्ने महासंघले जनाएको छ।
सार्वजनिक सवारीसाधनमा मादक पदार्थ सेवन गरी यात्रा गर्ने यात्रुमाथि आवश्यक कारबाही गर्न पनि महासंघले आग्रह गरेको छ। चालक तथा कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेका स्थानमा मात्रै यात्रुलाई खाना तथा खाजा खुवाउने व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
देशभर भारी वर्षा, बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण, आवश्यक मर्मतसम्भार र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई महासंघले आग्रह गरेको छ।










