वर्षाका कारण २५ जिल्लामा दुई दिन सवारी आवागमन बन्द

काठमाडौँ । तीन दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सरकारले मध्य तथा पश्चिम नेपालका २५ जिल्लामा दुई दिन सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको शुक्रबार बसेको बैठकले धेरै वर्षा भएका तथा आगामी दिनमा पनि भारी वर्षा हुनसक्ने आकलन गरिएका २५ जिल्लालाई रेडअलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो। निर्णय कार्यान्वयनका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टलाई सर्कुलर गरेको छ।
केन्द्रमा गृह मन्त्रालय र विपत् प्राधिकरणसहितका निकाय सहभागी मनसुन प्रतिकार्य कमाण्ड पोष्ट रहेको छ भने जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्ट गठन गरिएको छ।
रेडअलर्टमा राखिएका जिल्लामा शुक्रबार र शनिबार सवारी आवागमन बन्द गरिएको छ। तराईतर्फ रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर छन्। त्यस्तै पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठान, दाङ र सुर्खेतलाई पनि रेडअलर्टमा राखिएको छ।
उच्च पहाडी तथा हिमाली जिल्लातर्फ गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा र दार्चुलामा पनि सवारी आवागमन बन्द गरिएको छ।
यस्तै, पहेँलो अलर्टमा रहेका जिल्लामा भने रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउन र दिउँसोको समयमा स्थानीय अवस्थाको मूल्यांकन गरी आवश्यक निर्णय लिन जिल्ला कमाण्ड पोष्टलाई निर्देशन दिइएको छ।
प्राधिकरणका भूगर्भविद् प्रकाश पोख्रेलका अनुसार निरन्तर वर्षा भइरहेको र शनिबार पनि ठूलो पानी पर्ने सम्भावना रहेका जिल्लामा बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राखेर सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।
नेपाल मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा शनिबार र आइतबार पनि भारी वर्षाको सम्भावना रहेको छ।










