बालेन्द्र शाह शनिबार अपरान्ह स्वदेश फिर्ता

११ आश्विन २०८३, आईतवार ०८:३५

काठमाडौं । बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई शनिबार अपरान्ह स्वदेश फिर्ता भएका छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गरेका थिए।

शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन यही असोज ६ गते संयुक्तराज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। उनी नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी थिए।

यसैबीच शाहभन्दाअघि नै न्युयोर्क प्रस्थान गरेका परराष्ट्रमन्त्री खनाल भने राष्ट्रसङ्घीय महासभाअन्तर्गतका विभिन्न कार्यक्रममा सरिक भइरहेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। शाहले शुक्रबार महासभालाई सम्बोधन गरेका थिए। सो अवसरमा शाहले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुननहुने उल्लेख गर्दै हाम्रा देशका मानिसलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्नेमा जोड दिएका थिए।

उनले गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै उक्त विपद् स्थानीय त्रासदी मात्रै नभई विश्वका लागि एउटा चेतावनी पनि भएको उल्लेख गरेका थिए। उनले सम्बोधनका क्रममा जलवायु परिवर्तनले भौगोलिक सीमा नचिन्ने तथा ‘हिमनदी र बाढी ‘पासपोर्ट’मा ‘भिसा’ लगाएर यात्रा गर्दैनन्’ भनी उल्लेख गरेका थिए। शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका थिए।

भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग बिहीबार भेटवार्ता गरेका थिए। भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए। यसैगरी शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई समेत दिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*