नारायणी जलाधारका ६ स्थानमा बाढीको जोखिम, नदीको सतह खतरा तहमा

११ आश्विन २०८३, आईतवार ०९:०७

काठमाडौं । नारायणी जलाधारअन्तर्गत विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेपछि बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार आइतबार बिहान ८.५९ बजेसम्म नारायणी जलाधारका ६ वटा मापन केन्द्रमा नदीको अवस्था खतरा तहमा देखिएको हो।

विभागका अनुसार म्याग्दीको मंगलाघाटस्थित म्याग्दी नदीमा पानीको सतह ५.४२ मिटर पुगेको छ। यसको खतरा तह ४.५ मिटर रहेकोमा नदीको सतह अझै बढ्दो क्रममा छ। त्यस्तै पर्वतको मोदीबेनीस्थित कालीगण्डकी नदीमा पानीको सतह १०.३४ मिटर पुगेको छ। यहाँ खतरा तह ८.२० मिटर रहेको छ। नदीको बहाव अहिले बढिरहको छ।

लमजुङको गरम्बेसीस्थित चेपे खोलामा पानीको सतह ३.९८ मिटर पुगेको छ यसको खतरा तह ३.८ मिटर रहेको छ। हाल नदीको अवस्था स्थिर रहेको छ। यता चितवनको कालीखोलास्थित त्रिशूली नदीमा पानीको सतह १२.३७ मिटर पुगेको छ। खतरा तह १२.१ मिटर रहेकाले हाल नदीको सतह खतराको तहभन्दा माथि पुगेको छ र बढ्दो क्रममा रहेको छ।

चितवनकै देवघाटमा नारायणी नदीको पानीको सतह ११.०८ मिटर पुगेको छ। यहाँ खतरा तह ९ मिटर रहेको छ र नदीको सतह हाल बढिरहेको विभागले जानकारी दिएको छ। त्यस्तै चितवनको रिउखोला (बनकट्टा) मा पानीको सतह ३.८९ मिटर पुगेको छ। खतरा तह ३.८० मिटर रहेको यस खोलाको सतह भने अहिले घट्दो क्रममा रहेको छ।

विभागको विवरणअनुसार यी सबै मापन केन्द्रमा नदीको अवस्था खतरा श्रेणीमा रहेको छ। छमध्ये चार स्थानमा पानीको सतह बढिरहेको, एक स्थानमा स्थिर रहेको र एक स्थानमा घटिरहेको देखिएको छ। नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा नदीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*