दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले बिहीबार साइबर ब्युरोलाई प्रसाईंमाथि थप अनुसन्धानका लागि एक दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो ।
प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार प्रसाईंले आफ्नो युट्युब च्यानलमार्फत सांसद खतिवडाको छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेका थिए ।











